मनाङको प्रदेशसभा १(२) उपनिर्वाचनमा असोज २१ गते उम्मेदवारी दर्ता

मनाङको प्रदेशसभा १(२) उपनिर्वाचनमा असोज २१ गते उम्मेदवारी दर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मनाङ जिल्लाको प्रदेशसभा निर्वाचन क्षेत्र १(२) मा हुने उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता असोज २१ गते हुने भएको छ ।

निर्वाचन आयोगले स्वीकृत गरेको निर्वाचन कार्यक्रमअनुसार उम्मेदवारको मनोनयन दर्ता २०८२ असोज २१ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा हुनेछ । सोही दिन बेलुका ५ बजेदेखि ७ बजेसम्ममा उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक गरिनेछ ।

सूचीमा नाम समावेश भएका उम्मेदवारविरुद्ध उजुरी दिने समय असोज २२ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म तोकिएको निर्वाचन आयोगले जनाएको छ । उजुरी परेको खण्डमा असोज २२ गते दिउँसो ३ बजेदेखि असोज २३ गते बेलुका ५ बजेसम्म जाँचबुझ गरी निर्णय गरिनेछ । त्यसपछि असोज २३ गते बेलुका ५ बजेदेखि ७ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको नामावली प्रकाशन गरिनेछ ।

यसअघि मनोनयन दर्ता गरेका उम्मेदवारले नाम फिर्ता लिन असोज २४ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म समय पाउनेछन् । नाम फिर्ता लिन नचाहने उम्मेदवारहरूको अन्तिम नामावली सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म सार्वजनिक गरिनेछ भने दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको आयोगले जनाएको छ ।

निर्वाचन कार्यक्रमअनुसार मतदान आगामी कात्तिक १७ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म तोकिएका मतदान केन्द्रमा हुनेछ । आयोगले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ को समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएका व्यक्तिहरू उम्मेदवार हुन नपाउने कानूनी प्रावधान रहेको स्पष्ट पारेको छ ।