निर्वाचनका लागि कति वटा दल दर्ता भयो ?

निर्वाचनका लागि कति वटा दल दर्ता भयो ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि अहिलेसम्म ५६ वटा दल दर्ता भएको छ ।

निर्वाचन आयोगका अनुसार आइतबारसम्म दल दर्ता गर्नेको संख्या ५६ पुगेको छ ।

आइतबार नेपाली कांग्रेस, नेपाल समावेशी पार्टी, खम्बुवान राष्ट्रिय मोर्चा, नेपालका लागि नेपाली पार्टी, सचेत नेपाली पार्टी, जनप्रिय लोकतान्त्रिक पार्टी, राष्ट्रिय विकास पार्टी, नेसनल रिपब्लिकन नेपाल र युनाइटेड नेपाल डेमोक्र्याटिक पार्टीले दल दर्ता गराएका छन् ।

यस्तै, जय मातृभूमि पार्टी, नेपाल नौलो जनवादी पार्टी, श्रम संस्कृति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, स्वाभिमान पार्टी, जनप्रजातान्त्रिक पार्टी र जनता प्रगतिशिल पार्टी नेपाल पनि फागुन २१ गतेको निर्वाचनका लागि दर्ता भएका छन् ।

मंसिर १० गतेसम्म प्रतिनिधि सभा निर्वाचनमा भाग लिन चाहने दल र मंसिर ७ गतेसम्म राष्ट्रिय सभा निर्वाचनमा भाग लिन चाहने दलले दर्ता गराउनु पर्ने कार्यतालिका छ । राष्ट्रिय सभा निर्वाचनमा भाग लिन चाहने दलले दर्ता गराउनु पर्ने प्रक्रिया आइतबार सकिएको छ ।

प्रतिनिधि सभा निर्वाचन फागुन २१ गते र राष्ट्रियसभा निर्वाचन माघ ११ गते हुँदैछ । राष्ट्रिय सभा निर्वाचनमा भाग लिन दर्ता हुने दलको संख्या १३ पुगेको छ ।

आइतबार नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, श्रम संस्कृति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र तराई मधेश लोकतान्त्रिक पार्टीले दर्ता भएका छन् ।

आयोगमा सूचीकृत दलको संख्या भने १२९ पुगेको छ । पछिल्लो समय १५ नयाँ दल दर्ता भएका हुन् ।

यी सूचीकृत दलहरू निर्वाचनमा भाग लिन पुनः दर्ता हुनुपर्ने कानुनी व्यवस्था छ । संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ मा आयोगमा दर्ता भएका दलले सम्बन्धित निर्वाचनमा भाग लिन पुनः दल दर्ता गराउनुपर्ने उल्लेख छ ।

दल दर्ताका लागि ५ सय जना समर्थक चाहिन्छ । उनीहरू निर्वाचन कार्यालयमा उपस्थित भएर सनाखत गर्नुपर्छ ।