प्रतिनिधिसभा निर्वाचन : निर्वाचन क्षेत्र बाहिर रहेकाको मताधिकार सुरक्षित

प्रतिनिधिसभा निर्वाचन : निर्वाचन क्षेत्र बाहिर रहेकाको मताधिकार सुरक्षित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आगामी प्रतिनिधिसभा निर्वाचनका लागि अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि, २०८२ स्वीकृत भएको छ ।

निर्वाचन आयोगले कार्यविधि स्वीकृत गरेसँगै कामको शिलशिला वा अन्य कुनै कारणले आफ्नो निर्वाचन क्षेत्र बाहिर रहेकाको पनि मतदान अधिकार सुरक्षित हुने भएको छ ।

स्वीकृत कार्यविधिले आफ्नो स्थायी ठेगानाभन्दा बाहिर रहेका सरकारी कर्मचारी, सुरक्षाकर्मी, वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिक तथा कारागारका कैदीबन्दीले समानुपातिक निर्वाचनतर्फ मतदानमा सहभागी हुन पाउने व्यवस्था गरेको हो ।

निर्वाचनमा स्वीकृत कार्यविधिले स्थायी घर भई हाल अन्यत्र रहेका विभिन्न व्यक्तिले अस्थायी मतदाताका रूपमा नाम दर्ता गर्न सक्ने र यसरी दर्ता गरेका व्यक्तिले हाल आफू बसिरहेको स्थानबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत मतदान गर्न पाउने छन् ।

कार्यविधिले अस्थायी मतदाता नामावलीमा समावेश हुन पाउने व्यक्तिको वर्गीकरण गरेको छ । जसअनुसार सरकारी कर्मचारी, सरकारको स्वामित्व वा नियन्त्रणमा रहेका संस्थामा कार्यरत स्थायी, अस्थायी र करारका सरकारी कर्मचारी, विद्यालय र विश्वविद्यालयका प्राध्यापक, शिक्षक तथा कर्मचारी, ब्यारेकमा रहेका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी, कारागारमा रहेका थुनुवा र कैदी बन्दी, निर्वाचन कार्यमा खटिएका कर्मचारी, सरकारी निकायबाट स्वीकृति लिई सञ्चालनमा रहेका वृद्धाश्रममा बसेका व्यक्ति, संवैधानिक निकायका प्रमुख र पदाधिकारीले अस्थायी मतदाता नामावलीमा आफ्नो नाम समावेश गर्न पाउनेछन् ।

यसरी अस्थायी मतदाता नामावलीमा समावेश भएका व्यक्तिले आफू रहेको स्थानबाटै मतदान गर्न सक्ने कार्यविधिले व्यवस्था गरेको छ ।

तर, कार्यविधिले कसैले दोहोरो मतदान गरेको पाइएमा निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ अनुसार कारबाही हुने व्यवस्था पनि छ । कार्यविधिको दफा २२ अनुसार मतदान अधिकृतले त्यस्तो व्यक्तिलाई २५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था गरेको हो ।