प्रतिनिधिसभा चुनाव : अन्तिम मतदाता नामावली प्रकाशन, ९ लाख मतदाता थप

प्रतिनिधिसभा चुनाव : अन्तिम मतदाता नामावली प्रकाशन, ९ लाख मतदाता थप


काठमाण्डु – निर्वाचन आयोगले आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ ।

आयोगको शनिबार बसेको बैठकले फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने नागरिकहरूलाई समेटेर अन्तिम नामावली सार्वजनिक गर्ने निर्णय गरेको हो ।

आयोगका अनुसार यसपटक देशभर कुल १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता कायम भएका छन् । जसमा पुरुष ९६ लाख ६३ हजार ३५८, महिला ९२ लाख ४० हजार १३१ र अन्य २०० जना रहेका छन् । मतदाताहरूले आफ्नो नाम र विवरण आयोगको आधिकारिक वेबसाइटमा हेर्न सक्ने प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए ।

विक्रम संवत् २०७९ सालमा सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको तुलनामा यसपटक मतदाताको संख्यामा उल्लेखनीय वृद्धि भएको छ । २०७९ सालमा कुल मतदाता संख्या १ करोड ७९ लाख ८८ हजार ५७० रहेकोमा अहिले ९ लाख १५ हजार ११९ जना नयाँ मतदाता थपिएका छन् । तथ्यांकअनुसार पुरुष मतदाता ५ लाख २२ हजार ५५२, महिला मतदाता ३ लाख ९२ हजार ५५२ र अन्य मतदाताको संख्या १५ जनाले बढेका छन् ।

मतदाताको संख्या बढेसँगै आयोगले मतदान स्थल र केन्द्रहरूको संख्यामा पनि वृद्धि गरेको छ । देशभर कुल १० हजार ९६७ मतदान स्थल र २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको छ ।

आयोगका अनुसार २०७९ को निर्वाचनको तुलनामा यसपटक ७५ वटा मतदान स्थल थपिएका छन् भने मतदान केन्द्रको संख्यामा ८८५ ले वृद्धि गरिएको छ । निर्वाचन आयोगले मतदाता नामावली ऐन २०७३ र अद्यावधिक कार्यविधि २०८१ बमोजिम प्रक्रिया पूरा गरी नामावली सार्वजनिक गरेको छ ।