समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची पेस गर्ने आज अन्तिम दिन

समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची पेस गर्ने आज अन्तिम दिन


काठमाण्डु – प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची पेस गर्ने सोमबार अन्तिम दिन रहेको छ ।

आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार सोमबारसम्म दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची निर्वाचन आयोगमा पेस गर्नुपर्ने छ ।

दलले पुस १३ र १४ गतेसम्म पेस गरेका समानुपातिकतर्फको बन्द सूचीका बारेमा पुस १५ देखि २० गतेसम्म छानबिन गरिने छ । आयोगले पुस २० गतेसम्म बन्द सूची छानबिन गरेपछि पुस २१ गतेदेखि २७ गतेसम्म दललाई मिलाउन लगाउने कार्यतालिका छ ।

पुस २८ गतेदेखि माघ ३ गतेसम्म दलले मिलाएको बन्द सूची ठिक छ वा छैन भनी हेरिने आयोगले जनाएको छ । माघ ४ गते बन्द सूची प्रकाश गरिनेछ । माघ २० गते अन्तिम सूची प्रकाशन गरिनेछ ।

सय वटा राजनीतिक दलले ९३ चिह्नमार्फत समानुपातिक प्रणालीतर्फको निर्वाचनमा सहभागी हुन दल दर्ता गराएका छन् । समानुपातिकको निर्वाचन प्रणालीमा भाग लिन दल दर्ता गराएका राजनीतिक दलले मात्र आज र भोलि बन्द सूचीतर्फका उम्मेदवारको सूची पेस गर्न पाउनेछन् ।

आयोगका अनुसार आइतबार दिउँसोसम्म नेपाल मजदुर किसान पार्टी (नेमकिपा) सहित तीन वटा राजनीतिक दलले बन्दसूची पेस गरेका छन् । तीन वटा राजनीतिक दलहरूले १३४ जनाको बन्दसूची आयोगमा पेस गरेका छन् ।