काठमाण्डु – आगामी २०८२ साल फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारको बन्दसूची पेश गर्ने कार्य सम्पन्न भएको छ ।
निर्वाचन आयोगले निर्धारण गरेको कार्यतालिका अनुसार पुस १३ र १४ गते राजनीतिक दलहरूलाई बन्दसूची बुझाउने समय दिइएको थियो ।
आयोगका अनुसार कुल ६४ वटा राजनीतिक दलले ५८ वटा निर्वाचन चिह्नमा उम्मेदवारहरूको बन्दसूची पेश गरेका छन् । ५४ वटा राजनीतिक दलले आ–आफ्नो छुट्टै निर्वाचन चिह्नमा बन्दसूची बुझाएका छन् भने १० वटा राजनीतिक दलले भने ४ वटा एकल (साझा) चुनाव चिह्न प्रयोग गरी निर्वाचनमा भाग लिने गरी बन्दसूची पेश गरेका छन् ।
नेपालको संविधानको धारा ८४ को व्यवस्थाअनुसार प्रतिनिधि सभामा कुल २७५ सदस्य रहने प्रावधान छ । जसमध्ये पहिलो हुने निर्वाचित हुने प्रत्यक्ष प्रणालीतर्फ १६५ जना सदस्य प्रत्यक्ष निर्वाचनबाट निर्वाचित हुनेछन् भने समानुपातिक निर्वाचन प्रणालीमा सम्पूर्ण देशलाई एक निर्वाचन क्षेत्र मानी राजनीतिक दललाई मत दिने व्यवस्थाअनुसार ११० जना सदस्य निर्वाचित हुने संवैधानिक व्यवस्था रहेको छ ।
निर्वाचन आयोगले निर्वाचन कार्यतालिका अनुसार प्रक्रियाहरू अगाडि बढिरहेको र बन्दसूचीको जाँचबुझ लगायतका अन्य प्रक्रियाहरू अब सुरु हुने जानकारी दिएको छ ।
हेर्नुहोस् सूची –




प्रतिक्रिया