काठमाण्डु – प्रतिनिधि सभा निर्वाचनमा खटिने कर्मचारीहरूको सुरक्षा तथा उपचार व्यवस्थालाई सुनिश्चित गर्न सामूहिक दुर्घटना बीमा योजना गरिएको छ ।
निर्वाचनमा खटिने कर्मचारीलाई बीमा गरिने निर्वाचन आयोगले जनाएको छ । आयोगले राष्ट्रिय बीमा कम्पनी लिमिटेडसँग सय सम्बन्धी सम्झौता पनि गरेको छ ।
सम्झौताअनुसार निर्वाचनका विभिन्न चरणमा खटिने कर्मचारीलाई बीमाको दायराभित्र समेटिएको छ । बीमाले दुर्घटनाजन्य कारणबाट हुने मृत्यु, अंगभंग तथा औषधोपचार खर्चलाई समेट्नेछ भने निर्वाचनसँग सम्बन्धित गतिविधिका क्रममा उत्पन्न हुन सक्ने आकस्मिक जोखिम पनि बीमाको संरक्षणभित्र रहने व्यवस्था गरिएको छ ।
सम्झौतामा निर्वाचन कार्यका क्रममा घाइते वा गम्भीर अवस्थामा पुगेका कर्मचारीलाई आपतकालीन उपचारका लागि हेलिकप्टर वा हवाइजहाज प्रयोग गर्न सकिने व्यवस्था थप गरिएको छ ।
दुर्गम तथा पहुँच कठिन क्षेत्रबाट उपचारका लागि उद्धार गर्नु परेमा त्यसका लागि आवश्यक खर्च बीमाअन्तर्गत व्यहोर्ने प्रावधान राखिएको छ । यद्यपि, हेलिकप्टर प्रयोग तथा औषधोपचार खर्चको सीमा तोकिएको छ, जसअनुसार कुल खर्च निश्चित गरिएको रकमभन्दा बढी नहुने व्यवस्था गरिएको छ ।
बीमाअन्तर्गत प्रति व्यक्ति बीमांक रकम २० लाख रुपैयाँ कायम गरिएको छ । बीमा अवधि निर्वाचनसँग सम्बन्धित कार्य सुरु हुने मितिदेखि तोकिएको अवधिसम्म लागू हुने जनाइएको छ । यस बीमा योजनाबाट दुई लाखभन्दा बढी कर्मचारी लाभान्वित हुनेछन् ।
राष्ट्रिय बीमा कम्पनीका अनुसार जिल्ला निर्वाचन कार्यालयका स्वीकृत दरबन्दीका तथा निर्वाचन प्रयोजनका लागि काजमा आउने पाँच सय कर्मचारीका लागि २०८२ पुष १५ गतेदेखि ९० दिन बीमा अवधि तोकिएको छ ।
यस्तै, मुख्य तथा निर्वाचन अधिकृतको कार्यालयमा खटिने १ हजार ४८५ कर्मचारीका लागि माघ २ गतेदेखि ७० दिन, मतदान केन्द्रमा खटिने २ लाख ८ हजार ७०१ कर्मचारीका लागि फागुन १० गतेदेखि १५ दिन तथा मतगणना कार्यमा खटिने २ हजार ४७५ कर्मचारीका लागि फागुन २१ गतेदेखि १५ दिन बीमा अवधि लागू हुनेछ ।




प्रतिक्रिया