समानुपातिक उम्मेदवारहरूले भोलि नाम फिर्ता लिन सक्ने, यस्तो छ प्रक्रिया (सूचनासहित)

समानुपातिक उम्मेदवारहरूले भोलि नाम फिर्ता लिन सक्ने, यस्तो छ प्रक्रिया (सूचनासहित)


काठमाण्डु – प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा रहेका उम्मेदवारहरूले भोलि सोमबार आफ्नो नाम फिर्ता लिन सक्ने भएका छन् ।

निर्वाचन आयोगले तोकेको निर्वाचन कार्यक्रमअनुसार इच्छुक उम्मेदवारहरूका लागि नाम फिर्ताको अवसर प्रदान गरेको हो ।

निर्वाचन अधिकृत कृष्णबहादुर राउतका अनुसार नाम फिर्ता लिन चाहने उम्मेदवारहरूले भोलि सोमबार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म काठमाण्डुको बहादुर भवनस्थित समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिनुपर्नेछ ।

उम्मेदवारहरूले प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका २०८२ को अनुसूची १८ बमोजिमको ढाँचामा निवेदन दिनुपर्ने प्रावधान छ । यदि कुनै कारणवश सम्बन्धित उम्मेदवार आफैं उपस्थित हुन नसकेको खण्डमा वारेसमार्फत समेत नाम फिर्ता लिनका लागि निवेदन दिन सकिने आयोगले स्पष्ट पारेको छ ।

यसअघि गत पुस १३ र १४ गते राजनीतिक दलहरूले आफ्नो बन्दसूची आयोगमा पेश गरेका थिए । सूचीमा रहेका उम्मेदवारहरूमध्ये कसैले आफ्नो नाम हटाउन चाहेमा आयोगले भोलिको समय तोकेको हो । प्रक्रिया सकिएपछि आयोगले उम्मेदवारहरूको संशोधित बन्दसूचीमाथि थप कानूनी प्रक्रिया अघि बढाउनेछ ।