सर्वाधिक चासो : पार्टी प्रमुखहरूका चुनावी क्षेत्रहरू

सर्वाधिक चासो : पार्टी प्रमुखहरूका चुनावी क्षेत्रहरू


काठमाण्डु – २०७९ सालको निर्वाचन भएको ५ वर्ष नपुग्दै जेनजी आन्दोलनको जगमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत केही निर्वाचन क्षेत्रमा रोचक प्रतिस्पर्धा हुने भएको छ ।

उम्मेदवारी दर्ता कार्यक्रम मंगलबार भएसँगै अब उम्मेदवारहरू प्रचारप्रसारमा होमिएका छन् । यसपालिको चुनावमा कुनै दलहरूबिच पनि देशैभर गठबन्धन वा तालमेल नभएका कारण सबै दलहरू एक्लाएक्लै प्रतिस्पर्धामा छन् ।

आफूसम्बद्ध दलकै क्षमता र आफ्नै कार्यकर्ताको भरोसामा चुनावी माहोल बनेकाले यसपालिको चुनाव झनै रोचक बनेको छ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध चुनाव लड्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता तथा काठमाण्डु महानगरपालिकाका पूर्वमेयर बालेन्द्र शाह ‘बालेन’ झापाको ५ नम्बर निर्वाचन क्षेत्रमा पुगेका छन् । दुवै दलले ओली र शाहलाई भावी प्रधानमन्त्रीको रूपमा घोषणा गरेका छन् ।

झापा–५ : केपी ओलीविरुद्ध बालेन्द्र शाह

नेपाली राजनीतिमा लामो समय सक्रिय एमाले अध्यक्ष ओली दशकौंदेखि झापा–५ बाटै निर्वाचन जित्दै आएका छन् । २०७९ सालको निर्वाचनमा ओलीले ५२ हजार ३१९ मत ल्याएर विजयी हुँदा नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारीले २३ हजार ७४३ मत र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार सुरेश कुमार पोखरेलले ११ हजार ७५९ मत पाएका थिए । चुनावमा तत्कालीन माओवादीका उम्मेदवार थिएनन् । माओवादी उम्मेदवारले कांग्रेस उम्मेदवारलाई सघाएका थिए ।

अहिले भावी प्रधानमन्त्रीको घोषणा गर्दै बालेन मैदानमा उत्रिएका छन् भने माओवादीबाट युवा उम्मेदवार रञ्जित तामाङ पनि मैदानमा छन् । भावी प्रधानमन्त्रीका आकांक्षी ओली र बालेन एकै क्षेत्रमा हुँदा १ जनाको पराजय निश्चित भएकाले निर्वाचन रोचक बनेको छ ।

सर्लाही–४ : गगन थापा/अमरेशकुमार सिंह

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले काठमाण्डुको निर्वाचन क्षेत्र छाडेर सर्लाही–४ बाट उम्मेदवारी दिएका छन् । जुन क्षेत्रबाट गत निर्वाचनमा स्वतन्त्र उम्मेदवार (पूर्वकांग्रेस नेता) अमरेशकुमार सिंह विजयी भएका थिए ।

२०७९ सालको चुनावमा स्वतन्त्र उम्मेदवार सिंहले २० हजार १७ मत ल्याएर विजयी हुँदा नेपाली कांग्रेसका उम्मेदवार नागेन्द्र कुमार १८ हजार २५३ मत ल्याएर दोस्रो स्थानमा रहेका थिए । अर्का स्वतन्त्र उम्मेदवार मधुमाला कुमारी यादवले १४ हजार ६२२ मत ल्याएकी थिइन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार धिरज ठाकुरले ३०६ मत पाएका थिए ।

कांग्रेस छाडेर स्वतन्त्र उम्मेदवार हुँदा पनि विजयी बनेका सिंहको क्षेत्रमा काठमाण्डुबाट झरेका सभापति थापा चुनावी प्रतिस्पर्धामा होमिएका छन् ।

रुकुम पूर्व : प्रचण्ड

गत चुनावमा गोरखाबाट निर्वाचित भएका तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यसपालि रुकुम पूर्व गएका छन् । रुकुम पूर्व माओवादीका लागि सुरक्षित क्षेत्र मानिन्छ । हाल प्रचण्ड नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संयोजक छन् ।

२०७९ सालको निर्वाचन परिणाम हेर्दा रुकुम पूर्वमा तत्कालीन नेकपा माओवादी केन्द्रका उम्मेदवार पूर्णबहादुर घर्तिमगरले १२ हजार २६२ मत ल्याएका छन् भने नेकपा एमालेका उम्मेदवार कैलाशकुमार मल्लले ५ हजार २११ मत ल्याएका छन् । चुनावमा माओवादी–कांग्रेस गठबन्धन भएका कारण त्यतिबेला कांग्रेसका उम्मेदवार थिएनन् ।

चितवन–२ : रवि लामिछाने

गत चुनावका बेला पत्रकारिता छाडेर रास्वपा गठन गरी चुनावी मैदानमा होमिएका रास्वपा सभापति रवि लामिछाने ४९ हजार ३०० मतका साथ विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले १४ हजार ९८८ मत पाएका थिए । नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत पाएका थिए ।

दोस्रोपल्ट भएको उपनिर्वाचनमा पनि रवि अत्यधिक मतका साथ विजयी भएका थिए । तसर्थ चितवन–२ रविका लागि सुरक्षित निर्वाचन क्षेत्र मानिन्छ ।

झापा–३ : राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देन झापा–३ बाट उम्मेदवार बनेका छन् । गत निर्वाचनमा उनी ४० हजार ६६२ मतका साथ विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलाले ३७ हजार ३८६ मत पाएका थिए । एमालेले लिङ्देनलाई सघाएको थियो भने सिटौलालाई माओवादीले सघाएको थियो । यसपालि सो क्षेत्रमा एमाले, कांग्रेस, नेकपाका उम्मेदवार समेत छन् ।