अन्ततः स्ववियू निर्वाचन फागुन १४ गते

अन्ततः स्ववियू निर्वाचन फागुन १४ गते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आगामी फागुन १४ गतेका लागि तोकिएको छ । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को बिहीबार बसेको बैठकले निर्वाचनको मिति तोकेको हो ।

निर्वाचनको मिति तोकेर मातहत निकाय र क्याम्पसलाई जानकारी पठाउन थालिएको बताइएको छ । रजिस्ट्रार पेशल दाहालका अनुसार क्याम्पसहरूलाई जानकारी गराएर विद्यार्थी संघसंगठनसँग तयारीका विषयमा छलफल थालिनेछ ।

त्रिवि विद्यार्थी कल्याण विभागले स्ववियु निर्वाचनलाई लक्षित गर्दै विद्यार्थी भर्नालगायत काम सक्न क्याम्पसलाई ताकेता गरिसकेको छ । कार्यकारी परिषद्को बैठकले निर्वाचनसम्बन्धी प्रक्रिया थाल्न विभागलाई समेत परिपत्र गरेको छ ।

गत वर्ष निर्वाचन समन्वय एवं निरीक्षण समिति गठन गरे पनि विद्यार्थी संगठन र प्रमुख दल तयार नभएपछि निर्वाचन हुन सकेको थिएन । ०७३ मा पनि अन्तिम समयमा त्रिविका अधिकांश क्याम्पसमा निर्वाचन भएन । सत्तारूढ नेकपानिकट अनेरास्ववियुका संयोजक ऐन महरले विद्यार्थी आन्दोलन र स्ववियु जोगाउन पनि यो वर्ष चुनाव हुनुपर्ने तर्क गरे ।

‘हामीले गत वर्ष पनि निर्वाचन हुनुपर्छ भन्ने माग राखेका थियौं,’ उनले भने, ‘यस वर्ष पनि माहोल बनाउन दबाब दिइरहेका छौं ।’ जित हारभन्दा पनि विद्यार्थी आन्दोलनलाई सशक्त बनाइराख्न स्ववियु आवश्यक रहेको उनले औंल्याए ।