काठमाण्डु – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न जिल्ला र निर्वाचन क्षेत्रको वास्तविक मतपत्रको नमुना सार्वजनिक गरेको छ।
आयोगले सात वटै प्रदेशमातहतका केही जिल्ला र निर्वाचन क्षेत्रको मतपत्रको नमुना सार्वजनिक गरेको हो।
आयोगले अहिलेसम्म एक सय ६५ वटा निर्वाचन क्षेत्रमध्ये ५६ वटाको नमुना मपपत्र सार्वजनिक गरेको छ। बाँकी निर्वाचन क्षेत्रको नमुना मत्रपत्र क्रमशः सार्वजनिक गरिने छ।
सबैभन्दा ठुलो मत्रपत्र धनुषा–३ को हुनेछ। त्यहाँ ४५ उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। यसैगरी सबैभन्दा सानो मत्रपत्र मनाङको हुनेछ। त्यहाँ तीन उम्मेदवारले मात्र मनोनयन दर्ता गराएका छन्।
आयोगले एउटा मात्र निर्वाचन क्षेत्र भएको जिल्लाको एक प्रकारको र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको अर्को प्रकारको मतपत्रको नमुनासमेत सार्वजनिक गरेको छ।
आयोगका अनुसार कर्णाली प्रदेशका सल्यान, डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट र रुकुम पश्चिममा एकएक वटा निर्वाचन क्षेत्र छन्। दैलेख र सुर्खेतमा दुईदुई निर्वाचन क्षेत्र छन्। आयोगले यी जिल्लाको वास्तविक मतपत्रकै नमुना सार्वजनिक गरेको हो।
यसैगरी सुदूरपश्चिम प्रदेशको बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी र डडेल्धुरामा एकएक वटा निर्वाचन क्षेत्र छन्। अछाममा दुई, कञ्चनपुरमा तीन तथा कैलालीमा पाँच निर्वाचन क्षेत्र छन्।
आयोगले यी सबै निर्वाचन क्षेत्रको पनि वास्तविक मतपत्रको नमुना सार्वजनिक गरेको हो। जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाइको काम जारी छ। आगामी फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि एक सय १४ वटा दल निर्वाचन आयोगमा दर्ता भएका छन्।




प्रतिक्रिया