काठमाण्डु – फागुन २१गतेका लागि निश्चित भएको निर्वाचन आउन एक महिना पनि बाँकी नरहँदा प्रधानमन्त्री सुशीला कार्कीको एउटा अभिव्यक्तिले तरंग ल्याएको छ ।
पूर्वी नवलपरासीको हट्टीखोरस्थित नेपाली सेनाको ब्यारेकमा आयोजित राष्ट्रिय क्याडेट कोर (एनसीसी) तालिमको समापन समारोहमा प्रधानमन्त्री कार्कीले मौसम प्रतिकुलताका कारण हिमाली क्षेत्रमा अर्को चरणमा निर्वाचन हुने संकेत गरिन् ।
निर्वाचन आउन बुधबारदेखि मात्र २९ दिन मात्र बाँकी छ । सरकार, निर्वाचन आयोग र दलहरू सबै निर्वाचनमै ध्यान लगाएका छन् । निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवारको मनोनयन दर्ता भइसकेको छ भने समानुपातिकतर्फ उम्मेदवारको अन्तिम नामावली पनि प्रकाशित भइसकेको छ ।
स्वतन्त्रसहित सबै दलका उम्मेदवारहरू चुनाव केन्द्रित अभियान पनि सुरु गरिसकेका छन् । उनीहरू आ–आफनो निर्वाचन क्षेत्रमा घरदैलोसहित मतदाता भेट्ने कार्यमा व्यस्त छन् ।
तर प्रधानमन्त्रीको पछिल्लो भनाइले फागुन २१ गतेको निर्वाचन नै सर्ने हो कि भन्ने आशंका पनि जन्मेको छ ।
प्रधानमन्त्री कार्कीले भनेकी थिइन्, ‘सरकारले विशेष गरी हिमाली जिल्लामा निर्वाचनका लागि आवश्यक सहयोग उपलब्ध गराउनेछ । तर यदि मौसम अनुकूल भएन भने दोस्रो चरणमा निर्वाचन गर्नेछौँ ।’
मौसमीय अवस्थालाई देखाएर उत्तरी जिल्लाका केही मतदान केन्द्रमा मतदान स्थगित गर्ने विषयमा सरकारले गरिरहेको विचारले धेरैको मनमा संशय उत्पन्न भएको छ ।
तर निर्वाचन आयोग, गृह मन्त्रालय तथा सुरक्षा निकायसहित सरकारी संयन्त्रहरू यस विषयमा भने अनभिज्ञ छन् । उनीहरूबीच निर्वाचन दुई चरणमा गर्नेबारे कुनै छलफल भएको छैन ।
यद्यपी प्रधानमन्त्री कार्कीले कुनै पनि कारणले निर्वाचन स्थगित गर्ने योजना नरहेको स्पष्ट पारेकी छिन् ।
एक सरकारी अधिकारीका अनुसार उत्तरी जिल्लाका धेरै कम मतदान केन्द्र मात्र चिसोका कारण प्रभावित हुनेछ । मौसमीय अवस्थाको विश्लेषण गर्दा चिसोका कारण धेरै कम जिल्ला प्रभावित हुने आंकलन सरकारको छ ।
सम्भवतः मनाङ र दार्चुलाका केही मतदान केन्द्र प्रभावित हुन सक्ने सरकारको छ । दार्चुलाका दुर्गम क्षेत्रका दुई मतदान केन्द्र पहिल्यै जिल्ला सदरमुकाममा सारिसकिएको छ । सरकारले मनाङको अवस्था अझै विश्लेषण गरिरहेको छ । यसअघि पनि हिमपात वा अत्यधिक चिसोका कारण केही थोरै मतदान केन्द्रमा निर्वाचन स्थगित गरिएको थियो । तर फागुन २१ गतेसम्म अधिकांश हिमाली जिल्लामा हिउँ पग्लिने र मौसम अनुकूल हुने अनुमान छ ।
निर्वाचन आयोगका अधिकारीहरूले निर्वाचन दुई चरणमा गर्ने विषयमा कुनै विचार नभएको र यससम्बन्धी सरकारसँग कुनै औपचारिक वा अनौपचारिक संवाद पनि नभएको बताएका छन् ।
निर्वाचनसम्बन्धी निर्णय सरकार र संवैधानिक निर्वाचन व्यवस्थापन निकायको संयुक्त जिम्मेवारी हो । ‘हामी एकै चरणमा निर्वाचन गर्न पूर्ण रूपमा तयार र प्रतिबद्ध छौँ । र सोहीअनुसार तयारी अघि बढिरहेको छ,’ आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भने ।
जानकारहरूले प्राकृतिक वा अन्य कारणले तोकिएको मितिमा निर्वाचन हुन नसके वैकल्पिक मिति तोकेर निर्वाचन सम्पन्न गर्ने अभ्यास विगतमा पनि रहँदै आएको बताउँछन् । गृह मन्त्रालयले पनि मौसम बिग्रिएमा हिमाली जिल्लाहरूमा निर्वाचन सम्पन्न गर्न कठिन हुने आकलन गरेको छ । यद्यपि, सरकारले एकैचरणमा निर्वाचन सम्पन्न गर्ने गरी तयारी अघि बढाएको छ ।
उनीहरूले सबै ठाउँको निर्वाचन एकपटक सार्दा समस्या हुन्छ तर फागुन २१ गतेलाई नै आधार मानेर हिमाली क्षत्रेको मात्रै निर्वाचन सार्दा समस्या नहुने तर्क गछंन् ।
विगतमा यस मौसममा नेपालमा निर्वाचन भएको इतिहास छैन । यो मौसममा प्रायः देशको उत्तरी भेगमा हिमपात हुने गर्छ र चिसो बढेसँगै जाडो छल्न मानिसहरू तल्लो भूभागमा झर्ने गर्छन् । सामान्यताः उनीहरू फागुन तेस्रो सातासम्म पनि तल्लो भूभागमै रहने गर्छन् ।
अहिले पनि डोल्पा र मुगुमा हिमपात भइरहेको छ । डोल्पाका कतिपय स्थानमा फागुन २१ मा निर्वाचन गर्न सकिने स्थिति नदेखिएको त्यहाँका जिल्ला निर्वाचन अधिकारी दिलकृष्ण श्रेष्ठ बताउँछन् ।
गण्डकी प्रदेशका मनाङ र मुस्ताङ पनि हिमपात भइरहेको छ । तर फागुन २१ गतेसम्म तापक्रम बढ्ने र हिउँ पग्लिने ठानिएको छ ।
हिमाली जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरूले त्यसवेला मौसम सामान्य भएमा सहज हुने तर हिमपात भएमा समस्या हुन सक्ने ‘रिपोर्टिङ’ गरेका छन् । कुनै वर्ष फागुनको तेस्रो साता मौसम सामान्य हुने त कुनै वर्ष अत्यधिक चिसो हुने गरेको छ । यो वर्ष तुलनात्मक रूपमा नेपालको मौसम कम चिसो रहेकाले निर्वाचन गर्न सकिने विश्वास गृह मन्त्रालयका अधिकारीको छ ।




प्रतिक्रिया