आसन्न चुनाव एकैचरणमा गर्ने कि दुईचरणमा ? सरकार र उम्मेदवारबिच मतभेद

आसन्न चुनाव एकैचरणमा गर्ने कि दुईचरणमा ? सरकार र उम्मेदवारबिच मतभेद


काठमाण्डु – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि फागुन २१ गते मौसमी प्रतिकूलता भएमा दुईचरणमा चुनाव गर्न सकिने अभिव्यक्ति प्रधानमन्त्री सुशीला कार्कीले दिएपछि उम्मेदवार अर्थात् नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विमति व्यक्त गरेका छन् । यससँगै आसन्न चुनाव एकैचरणमा गर्ने कि दुईचरणमा गर्ने भन्ने मतभेद उत्पन्न भएको छ ।

मंगलबार नवलपुरको कावासोती नगरपालिका–१ हात्तिखोरमा राष्ट्रिय सेवा दलको तालिम समापन कार्यक्रममा सहभागी भएपश्चात् प्रधानमन्त्री कार्कीले पत्रकारहरूसँग भनिन्, ‘निर्वाचनका लागि सरकारले आवश्यक सहयोग गर्छ, विषेशगरी हिमाली जिल्लामा मौसम अनुकूल नभएमा दोस्रो चरणमा निर्वाचन गराउँछौं ।’

कम मतदाता भएका स्थानमा सवारीसाधनको प्रयोग गरेर मतदाता ओसारेरै भए पनि निर्वाचन सम्पन्न गराइने बताउँदै प्रधानमन्त्री कार्कीले हुनै नसक्ने अवस्था आएमा दोस्रो चरणमा निर्वाचन गराउनेतर्फ सोच्न सकिने बताइन् । निर्वाचन सार्ने विषयले प्रवेश नपाएकाले ढुक्कका साथ आगामी फागुन २१ गतेको निर्वाचनमा जुट्न उनले आग्रह गरेकी थिइन् । उनले भनिन्, ‘शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गराउन हामीले शतप्रतिशत प्रयास गरेका छौं, निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुन्छ ।’

प्रधानमन्त्री कार्कीको अभिव्यक्ति सार्वजनिक भएको भोलिपल्ट बुधबार नेकपा संयोजक प्रचण्डले चुनाव एकैचरणमा हुनुपर्ने अडान लिए । काठमाण्डुमा बुधबार आयोजित कार्यक्रममा उनले भने ‘चुनाव दुईचरणमा नगरियोस्, एकैचरणमा गरियोस् । चुनाव निष्पक्ष हुने वातावरण तय गरियोस् । यस पटकको निर्वाचन सामान्य निर्वाचन होइन, असाधारण परिस्थितिमा हुन लागेको हो । यसलाई राष्ट्र र जनताको निम्ति ठीक ढंगले सम्पन्न गर्नुपर्छ ।’

केही मान्छेहरूले अझै चुनाव हुन्छ कि हुँदैन भन्ने आशंका राखिरहेको भन्दै उनले निर्वाचन तोकिएकै मितिमा हुनुपर्ने बताएका छन् ।

हिमाली जिल्लामा मौसम प्रतिकूल भई हिमपात भएमा मतदानस्थलबाट मतदाता पुग्न नसक्ने र चिसो बढ्ने खतरालाई मध्यनजर गर्दै सरकारले दोस्रोचरणको चुनावबारे पनि सोच्न थालेको छ ।