खोटाङमा चुनावी रौनक, कांग्रेस र एमाले मुख्य प्रतिस्पर्धी

खोटाङमा चुनावी रौनक, कांग्रेस र एमाले मुख्य प्रतिस्पर्धी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन खोटाङलाई बहुपक्षीय प्रतिस्पर्धाको केन्द्र बनाएको छ ।

कोशी प्रदेशको पहाडी जिल्ला त्यसमाथि एकमात्र निर्वाचन क्षेत्र रहेको खोटाङ लामो समयदेखि नेपाली कांग्रेस र नेकपा एमालेको मुख्य प्रतिस्पर्धी बनेको जिल्ला हो ।

२०७९ सालको प्रतिनिधि सभाको निर्वाचनमा भने कांग्रेस र तत्कालीन नेकपा माओवादी केन्द्र सहितको गठबन्धनका उम्मेदवार रामकुमार राई निर्वाचित भएका थिए । राईले जिल्लामा एमालेको दबदबा तोडेका थिए ।

जेनजी आन्दोलनपछिको यो निर्वाचनमा भने वैकल्पिक राजनीतिक धाराहरूले पनि आफ्ना असर देखाउने प्रयास गरिरहेका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार वीरकाजी राई सरल, शालिन र मिलनसार छविका नेताका रूपमा परिचित छन् । पार्टीभित्र सर्वस्वीकार्य उम्मेदवारका रूपमा उनी घरदैलो अभियान, गाउँ–गाउँमा मतदाता भेटघाट र विकास एजेन्डा लिएर मैदानमा छन् ।

जिल्लाकै जन्तेढुंगा गाउँपालिका सभापति बाजिन्द्र विष्ट कांग्रेसले जिल्लामा एकता र संगठनात्मक मजबुती कायम गर्दै प्रत्यक्ष निर्वाचनमा जीत निकाल्ने रणनीति अघि सारेको बताउँछन् । उनले कांग्रेसले गरेका विकासका कामले नै जिल्लामा जीत निश्चित रहेको दाबी गरे ।

नेकपा एमालेबाट देबविक्रम राई लामो राजनीतिक अनुभव र संगठनात्मक पकड बोकेका नेताका रूपमा परिचित छन् । स्थानीय तहदेखि प्रदेश र केन्द्रसम्मको राजनीतिक समीकरणमा उनी स्थायित्व र निरन्तरताको प्रतीक बनेका छन् । एमालेको बलियो संगठन र २०७९ को समानुपातिक अग्रतालाई उनी प्रत्यक्ष मतमा रूपान्तरण गर्ने लक्ष्यमा छन् ।

गठबन्धनका बाबजुत प्रत्यक्षमा निर्वाचन जित हाँसिल गर्न नसकेपनि एमाले जिल्लामा समानुपातिक मतमा पहिलो रहेको छ ।

अर्थराजनीतिज्ञ हरि रोक्का झण्डै ४ दशक काठमाण्डुमा बिताएर गाउँ फर्किएका छन् । नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार रहेका उनी गाउँमै बसोबास गर्दै विकास, युवा रोजगारी र स्थानीय उत्पादनको प्रवर्द्धनलाई प्राथमिकता दिँदै मतदाता भेटघाटमा छन् । उनका विचार र नीतिप्रति ग्रामीण र युवा मतदाता आकर्षित छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रभाव खोटाङमा सीमित देखिएको छ । जिल्लाको संगठन विस्तार र स्थायी संरचना कमजोर नै रहेकाले रास्वपाका उम्मेदवारलाई झड्का दिइरहेको छ । रास्वपाले यस क्षेत्रमा रुद्र गिरिलाई उम्मेदवार बनाएको छ ।

निर्वाचनमा २ जना स्वतन्त्रसहित १५ उम्मेदवार चुनावी मैदानमा छन् ।

गत प्रतिनिधिसभा निर्वाचनमा खोटाङ–१ को प्रत्यक्ष मतपरिणाम अनुसार तत्कालीन नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका गठबन्धन उम्मेदार राम कुमार राईले ३१ हजार ३५१ मत ल्याएर निर्वाचित भएका थिए । नेकपा एमालेका विशाल भट्टराईले २८ हजार ६८२ मत ल्याएर दोस्रो भएका थिए ।

समानुपातिक मततर्फ भने एमालेले २४ हजार २७१ मत, कांग्रेसले १८ हजार ६७२ मत, तत्कालीन नेकपा माओवादी केन्द्रले ११ हजार ८४५ मत, नेकपा एकीकृत समाजवादीले ३ हजार ३६३ मत, जनता समाजवादी पार्टी नेपालले २ हजार २४८ मत, राष्ट्रिय स्वतन्त्र पार्टी १ हजार ४९७ मत र राष्ट्रिय प्रजातन्त्र पार्टी १ हजार २५५ मत ल्याएका थिए । अरु दलहरूले हजार मत कटाउन सकेका थिएनन् ।

तथ्यांकअनुसार पनि खोटाङमा प्रत्यक्ष र समानुपातिक दुवैतर्फ कांग्रेस र एमाले मुख्य प्रतिस्पर्धी हुन् भने वैकल्पिक मतले त्रिकोणीय प्रतिस्पर्धा सिर्जना गर्ने देखिएको चर्चा हुने गरेको छ ।