काठमाण्डु – बिहीबार हुने प्रतिनिधि सभा निर्वाचनमा मतदाता नामावलीमा नाम दर्ता भएपनि केही शीर्ष नेताहरू मतदानबाट बञ्चित हुने भएको छन् ।
निर्वाचनमा आफ्नो क्षेत्रभन्दा बाहिरबाट उम्मेदवारी दिएका कारण प्रमुख दलका शीर्ष नेताहरूसहित करिब दुई दर्जन उम्मेदवारले यसपटक आफैंलाई मत दिन नपाउने भएका हुन् ।
भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरिएका नेताहरू एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका अध्यक्ष गगन थापा, रास्वपाका अध्यक्ष रवि लामिछाने, रास्वपाका वरिष्ठ नेता बालेन शाह, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफूले आफैलाई मतदान गर्न पाउने छैनन् ।
यी नेताहरूले उम्मेदवारी दिएको निर्वाचन क्षेत्र र उनीहरूको मतदाता नामावली दर्ता भएको क्षेत्र फरक–फरक भएकाले उनीहरूले आफ्नै उम्मेदवारका रूपमा मत हाल्न पाउँदैनन् ।
ओली र बालेन झापा–५ बाट उम्मेदवार हुन् । ओलीको भक्तपुर–२ मा मतदाता नामावलीमा नाम दर्ता छ । यस्तै बालेनको नाम काठमाण्डु–२ मा दर्ता छ ।
कांग्रेस सभापति थापा सर्लाही–५ बाट उम्मेदवार भएपनि उनको नाम काठमाण्डु–४ मा मतदाता नामावालीमा दर्ता छ ।
नेकपाका संयोजकको नाम चितवन–३ मा दर्ता तर उनी यसपटक रुकुम पूर्वबाट उम्मेदवार बनेका छन् ।
त्यस्तै, रास्वपाका अध्यक्ष रवि लामिछाने चितवन–२ बाट उम्मेदवार भए पनि उनको नाम काठमाण्डु–३ मा रहेको छ । यसैगरी, जसपा–नेपालका अध्यक्ष उपेन्द्र यादवको नाम मोरङ–१ मा छ । उनी सप्तरी–३बाट उम्मेदवार बनेका छन् ।
यसैगरी, नेकपाका नेता नारायणकाजी श्रेष्ठ, कांग्रेस महामन्त्री प्रदीप पौडेल, राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, एमालेका भानुभक्त ढकाल, कांग्रेस नेता शेखर कोइराला र रास्वपाका उपाध्यक्ष स्वर्णिम वाग्लेको नाम फरक निर्वाचन क्षेत्रमा रहेका कारण उनीहरू पनि मतदान गर्न पाउने छैनन् । उनीहरू सबै आफू मतदाता भएको फरक निर्वाचन क्षेत्रबाट निर्वाचन लडिरहेका छन् ।
यसैगरी कांग्रेसका विनोद चौधरी, शंकर भण्डारी, अमर सिंह पुन, देवेन्द्र पौडेल, प्रेम आले, यशोदा सुबेदी लगायतका उम्मेदवार पनि यसपटक आफैंलाई मत दिन नपाउने सूचीमा परेका छन् ।
यो अवस्था नेपालको निर्वाचन प्रणालीमा उम्मेदवार र मतदाता दर्ता क्षेत्रबीचको कानुनी प्रावधानका कारण सिर्जना भएको हो ।
निर्वाचन लड्ने क्षेत्र परिवर्तन गर्दा मतदाता नामावली पनि समयमै सार्नुपर्ने हुन्छ, अन्यथा उम्मेदवार आफैंले आफ्नो पक्षमा मत हाल्न सक्दैनन् ।




प्रतिक्रिया