काठमाण्डु – प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको मतगणना सम्पन्न भएको छ।
मतगणना सकिएपछि फारम सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट आयोगमा विवरण प्राप्त हुने क्रम जारी छ ।
समानुपातिकतर्फको मतगणना सकिएसँगै समानुपातिकतर्फ राजनीतिक दलले पाउने सिट सङ्ख्या निर्धारणको गृहकार्य सुरु भएको आयोगले जनाएको छ। केही दिनमा यो प्रक्रियाले पूर्णता पाउने छ ।
प्रत्यक्षतर्फको अन्तिम नतिजा सार्वजनिक भइसके पनि समानुपातिकतर्फको मतगणनाको अन्तिम नतिजा सार्वजनिक गर्ने आयोगको तयारी छ ।
निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले समानुपातिकको मतगणना सकिएसँगै प्राप्त भएका सबै जिल्लाको निर्वाचन फारम आयोगमा प्रविष्ट गर्ने काम भइरहेको जानकारी दिए ।
उनका अनुसार फारम प्रविष्ट गर्ने र अन्तिम मत समावेश गरेको नतिजा आयोगको वेबसाइटमा अपडेट गरिनेछ । त्यसपछि समानुपातिक मतका आधारमा राजनीतिक दलहरूले पाउने सिट सङ्ख्या निर्धारण गरिनेछ । त्यसपछि दलहरूलाई आयोगले पत्र पठाउनेछ ।
समानुपातिक निर्वाचन तर्फ एक करोड सात लाख ६४ हजार ८८९ मत गणना भएको हो । अन्तिम परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ५१ लाख ४५ हजार ६८१ सहित अग्रता कायम गरेको छ। यो कुल मतको ४७.८० प्रतिशत मत हो।
यस अनुसार रास्वपाले समानुपातिकबाट ५७ सिट थप्ने निश्चित भएको छ ।
यस्तै नेपाली कांग्रेसले १७ लाख ५४ हजार ५२, नेकपा (एमाले) ले १४ लाख ५१ हजार ७५९, नेपाली कम्युनिष्ट पार्टीले आठ लाख ८ हजार ५८२, श्रम संस्कृति पार्टीले तीन लाख ८५ हजार ६७९ र राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख ३० हजार ५९ मत हासिल गरेका छन्।
कांग्रेसले समानुपातिकबाट २० सिट थप्ने सम्भावना छ भने एमालेले १६ सिट पाउने छ । यस्तै नेपाली कम्युनिस्ट पार्टीले थप ९ सिट थप्ने छ । श्रम संस्कृति पार्टीले समानुपातिकबाट थप ४ सिट पाउने निश्चित छ भने राप्रपाले ४ सिट पाउने सम्भावना छ ।
अन्य दलहरूले भने थ्रेसहाल्ड कटाउन सकेका छैनन्।




प्रतिक्रिया