गृहमन्त्री अर्यालद्वारा निर्वाचन समीक्षा गर्दै धन्यवाद ज्ञापन

गृहमन्त्री अर्यालद्वारा निर्वाचन समीक्षा गर्दै धन्यवाद ज्ञापन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहीत वातावरणमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएकोमा केन्द्रीय सुरक्षा समिति,  प्रदेश कमाण्ड पोष्‍ट तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूलाई धन्यवाद ज्ञापन गरेका छन् ।

गृहसचिव राजकुमार श्रेष्‍ठ, ४ वटै सुरक्षा निकायका प्रमुख, मन्त्रालयका महाशाखा प्रमुखहरु, प्रदेश कमाण्ड पोष्टका पदाधिकारी तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको सहभागितामा भर्चुअल माध्यमबाट भएको बैठकमा निर्वाचनको समीक्षा गर्दै केन्द्रीय सुरक्षा समिति, प्रदेशको प्रमुख सचिव संयोजक रहने सातै प्रदेशका प्रदेश कमाण्ड पोष्टका पदाधिकारी तथा प्रमुख जिल्ला अधिकारी (सीडीओ) संयोजक रहने ७७ वटै जिल्लाका जिल्ला सुरक्षा समितिका पदाधिकारीलाई मन्त्री अर्यालले रक्तपातविहीन ऐतिहासिक निर्वाचन सम्पन्न गर्न आ–आफ्नो भूमिका सफलतापूर्वक निर्वाह गरेकोमा सबैलाई धन्यवाद ज्ञापन गरेका हुन् ।

निर्वाचनपश्चात संविधानले सही बाटो समातेको र राजनीतिक सुशासनको जग बसालिएको बताउँदै मन्त्री अर्यालले यस ऐतिहासिक उपलब्धिको हिस्सेदार केन्द्रमा रहेर काम गर्नेदेखि फिल्डमा खटिनेसम्म सबै तह र तप्कामा रहेका कर्मचारी रहेको बताउँदै सामूहिक र साझा प्रयासबाट मात्र यस ऐतिहासिक उपलब्धि हासिल गर्न सम्भव भएको बताए ।

गृहसचिव राजकुमार श्रेष्‍ठले सबैले आ–आफ्नो व्यावसायिक निष्‍ठा कायम गरी असल नियतका साथ फिल्डमा निष्पक्ष भई जिम्मेवारी पूरा गरेकाले अन्तराष्ट्रिय पर्यवेक्षकबाट समेत उच्च प्रशंसा प्राप्त गर्न सफल भएको बताए ।

भर्चुअल बैठकमा सहभागी प्रदेश कमाण्ड पोष्‍टका पदाधिकारी तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूले निर्वाचन सुरक्षा व्यवस्थापनमा गरीएको तयारीबारे आ–आफ्नो क्षेत्रको अनुभव सुनाउनुका साथै विगत ३० वर्षको अवधिमा भएका निर्वाचनभन्दा स्वच्छ, निष्पक्ष, भयरहीत र त्रुटिरहित एकै समयमा एकैपटक निर्वाचन भएकाले ऐतिहासिक उपलब्धि हासिल गरिएको बताए ।