उपनिर्वाचन: विद्या भट्टराई उम्मेदवार बन्ने सम्भावना कति?


काठमाडौँ—कास्की–२ बाट निर्वाचित तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको १५ फागुनमा हेलिकोप्टर दुर्घटनामा ज्यान गएपछि अहिले त्यो क्षेत्र खाली छ ।

निर्वाचन आयोगको सिफारिसमा रिक्त रहेका तीनवटै तहको उपनिर्वाचन १४ मंसिरमा गर्ने निर्णय मन्त्रिपरिषद्ले गरिसकेको छ। ५० स्थानमा उपनिर्वाचन भइरहेका बेला सर्वत्र चासोको विषय बनेको छ, कास्की– २।

कास्की– २ मा सत्तासिन नेपाल कम्युनिस्ट पार्टीले कसलाई उम्मेदवार बनाउछ भनेर चर्चा  भइरहेको छ। यद्यपि, सो दलले अझै निर्णय गरिसकेको छैन।

अधिकारीको अन्त्येष्टिसँगै त्यतिखेर नै चर्चा भएको थियो, वरिष्ठ नेता वामदेव गौतमको नाम त्यस क्षेत्रबाट उम्मेदवार बन्ने भनेर । पार्टी विभाजन हुँदा रवीन्द्र वामदेवतिर लागेको र त्यसपछिका दिनमा पनि रवीन्द्र वामदेव इतरकै नेता थिए।

तर, गौतमले विज्ञप्ति नै जारी गरेर ‘आफू कास्कीबाट उम्मेदवार बन्ने स्थितिमा नरहेको, बरु रवीन्द्रकै परिवारका सदस्यलाई उम्मेदवार बनाउन प्रयास गर्ने’ स्पष्ट बताएका थिए। उनकाे संकेत स्वर्गीय अधिकारीको पत्नी विद्या भट्टराईतिर थियाे।

अहिले कास्की– २ बाट नेकपाको उम्मेदवारको रुपमा  विद्यालाई  हेरिएको छ। कुनै बेला तत्कालीन एमालेको विद्यार्थी संगठन अनेरास्ववियुकी केन्द्रीय सचिव रहेकी थिइन्, विद्या । तर, रवीन्द्रसँगको विवाहसँगै विद्याको सक्रिय राजनीतिले पूर्णविराम लिएको थियो।

विद्यालाई चुनावमा उठ्न कास्की–२ का मतदाताले आग्रह गरिरहेकाले पनि नेकपाले उनलाई उम्मेदवार बनाउने सम्भावना छ । विद्यालाई कदमकदाचित प्रतिनिधिसभाको उम्मेदवार नबनाइए राष्ट्रिय सभामा ल्याउने सम्भावना समेत रहेको नेकपा स्रोतको भनाइ छ।

विशेषतः नेकपा वरिष्ठ नेता बामदेव गौतम विद्यालाई उपनिर्वाचनमा उम्मेदवार बनाउनुपर्ने लविङ गरिरहेको बताइन्छ । त्यसमा नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली समेत सकारात्मक भए पनि ‘परिस्थिति हेर्नुपर्ने’ बताउँदै आएको नेकपाका एक जना केन्द्रीय सदस्यले बताए।

राजनीतिमा आउने सम्भावना कतिको छ, भन्ने प्रश्नमा विद्याले सञ्चारमाध्यमलाई भनेकी छन्,‘म एउटा जटिल परिस्थितिबाट बाहिर निस्कँदै छु। तर, मैले के गर्ने भन्ने कुराको निचोड निकालेकी छैन। यो कुरा म व्यक्तिले मात्रै निचोड निकाल्ने होइन। मेरो पछाडि सिंगो पार्टी छ। पार्टीका नेताहरूले कस्तो सल्लाह, सुझाव र मार्गदर्शन गर्नुहुन्छ? त्यसका आधारमा म निर्णयमा पुग्छु।’

प्रतिक्रिया दिनुहोस
Advertisement