काठमाण्डु – निर्वाचन आयोगले हालसम्म निर्वाचन आचार–संहिता उल्लंघन गर्ने ६५ जनालाई स्पष्टीकरण सोधेको छ । स्थानीय तहको निर्वाचनको लागि गत चैत २५ गतेबाट निर्वाचन आचार संहिता लागू भएपछि उल्लंघन गर्नेलाई स्पष्टीकरण सोधेको हो ।
निर्वाचन आचार संहिता उल्लंघन गर्नेलाई विभिन्न माध्यमबाट स्पष्टीकरण सोधिएको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए । उनका अनुसार गम्भीर प्रकृतिका उल्लंघनकर्तालाई कानून बमोजिम कारबाही गर्ने तयारी गरिएको छ ।
आचार–संहिता उल्लंघन गर्नेमा मन्त्री, कर्मचारी र पत्रकारसमेत रहेका छन् । गत निर्वाचनमा पनि विभिन्न दल तथा व्यक्तिहरूले आचार संहिता उल्लंघन गरेका थिए । यसपटक भने विगतका निर्वाचनमा भन्दा कम आचार–संहिता उल्लंघन भएको पौडेलको ठहर छ ।
त्यसैगरी, उम्मेदवार मनोनयन गर्ने पहिलो दिन ११ हजारको नाम दर्ता भएको थियो । अन्तिम दिन सबैभन्दा बढी १ लाख ४० हजार उम्मेदवारको नाम दर्ता गरिएको पौडेलले जानकारी दिए ।
आयोगले निर्वाचन कार्यक्रम ११ गते सुरु गरेको थियो । ११ देखि १२ गतेसम्म उम्मेदवार मनोनयन दर्ता थियो । १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने । १४ र १५ गते मनोनयन दर्ताको जाँचबुझ गरी छानबिन हुने कार्यक्रम थियो ।
आयोगले १५ गते मनोनयन उम्मेदवारको नामावली प्रकाशन गरेको थियो । १६ गते उम्मेदवारले नाम फिर्ता लिने, नामावली प्रकाशन र १७ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरेको थियो ।
विगतमा पनि स्थानीय निर्वाचनको प्रचारप्रसार ११–१२ हुने गरेको थियो । आयोगको ऐन अनुसार स्थानीय निर्वाचन १५ दिनभन्दा बढी प्रचारप्रसार गर्न पाइँदैन । स्थानीय तहको प्रचारप्रसार विशेषगरी १५ दिनभित्र सबै सक्नुपर्ने थियो ।




प्रतिक्रिया