स्थिर समयमा प्रचार गरेको पाइए कारबाही गर्ने आयोगको चेतावनी


काठमाण्डु- संघ र प्रदेशसभाको निर्वाचन नजिकिएसँगै देशभर चुनावी माहोल बढेको छ । मंसिर ४ गते हुने संघ र प्रदेशसभको निर्वाचन नजिकिएसँग विभिन्न राजनीतिक दलहरू निर्वाचनको प्रचारप्रसारमा व्यस्त रहेका छन् ।

राजनीतिक दलहरुले निर्वाचनको ४८ घण्टा अघिबाट कुनैपनि किसिमका चुनावी प्रचारप्रसारका गतिविधि गर्न नपाइने भएको छ । निर्वाचन आयोगले मतदान सुरु हुनुभन्दा ४८ घण्टा अघिदेखि चुनावी प्रचारप्रसारसँग सम्बन्धित कुनै पनि गतिविधि गर्न नपाइने जनाएको हो ।

निर्वाचन कसुर तथा सजाय ऐनको दफा २४ को ५ ले चुनाव हुनुभन्दा ४८ घण्टा अघिदेखि प्रचारप्रसारका कुनै पनि गतिविधि गर्न नपाउने उल्लेख भएअनुसार आयोगले दल, उम्मेदवार र कार्यकर्ताहरूलाई पुनः सचेत गराएको छ ।

मतदान अघिको ४८ घण्टामा चुनावी प्रचारप्रसार सम्बन्धी कुनै पनि कार्यक्रम गर्न नपाउने निर्वाचन आयोगका निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जनाएका छन् । विगतमा मौन अवधिका रुपमा मानिएको समयलाई यसपालि स्थिर समयको रुपमा प्रयोग गरिने उनले बताएका छन् ।

्त्यसअनुसार पर्सि मंसिर १ गते राति १२ बजेदेखि चुनावी प्रचारप्रसार सम्बन्धी सम्पूर्ण कामहरू निषेध गरिएको छ । उनले कुनै पनि प्रकारको प्रचारप्रसार गरेको पाइए निर्वाचन कसुर तथा सजाय ऐनअनुसार कारबाही गर्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement