खुमबहादुर, चीरञ्जीवि र जेपीको राजनीति समाप्त!


काठमाडौं–अब अदालतबाट भ्रष्टाचारी प्रमाणित भएकाहरू निर्वाचन लड्न नपाउने भएका छन्।

 

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्बन्धी विधेयक संसदबाट पारित भएसँगै भ्रष्टाचार, जबर्जस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागुऔषध बिक्रीवितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण सम्बन्धमा दोषी र राहदानी दुरुपयोग गर्नेले प्रतिनिधिसभा निर्वाचनमा सदस्य बन्न नपाउने व्यवस्था लागू भएको हो।

 

अब प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उम्मेदवार पनि बन्न नपाउने भएपछि खुमबहादुर खड्का, चिरञ्जीवी वाग्ले, जेपी गुप्ता लगायतका नेताहरुको राजनीति समाप्त भएको छ।
ती नेताहरु ‘प्रमाणित’ भ्रष्टाचारी हुन्। तसर्थ अब चुनाव लड्न पाउने छैनन्।

 

यसअघि कांग्रेसका राधेश्याम अधिकारी, आनन्द ढुंगानासहित १९ सांसदले भ्रष्टाचारीले चुनाव लड्न पाउनुपर्ने माग गर्दै संशोधन संशोधन दर्ता गराएपनि सोमबार फिर्ता लिएपछि विधेयक संसद बैठकमा पेश भएको थियो। संसदको सोमबार बसेको दोस्रो बैठकले दुवै विधेयक पारित गरेपछि अब निर्वाचन आयोगलाई चुनावी कार्यक्रम अघि बढाउन सजिलो भएको छ।

आगामी मंसिर १० र २१ गते गरी दुई चरणमा पहिलो पटक प्रतिनिधि सभा र प्रदेश सभाको एकै पटक निर्वाचन गर्ने गरी मिति घोषणा भइसकेको छ।

 

संसद्बाट पारित भएको विधेयकलाई सभामुखले राष्ट्रपतिकहाँ पठाउनेछिन्। विधेयक राष्ट्रपतिले प्रमाणीकरण गपछि लागू हुनेछ।

 

विधेयकमा अपहरणसम्बन्धी कसुर वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा सजाय पाई अन्तिम फैसला भएकाहरुले पनि निर्वाचन लड्न नपाउने व्यवस्था गरिएको छ।  यसैगरी संगठित अपराधसम्बन्धी कसुरमा कैदको सजाय पाएका तथा कर्तव्य ज्यानसम्बन्धी कसुरमा २० वर्षभन्दा कम सजाय पाएर भुक्तान गरेको मितिले छ वर्ष पूरा नभएकाहरुले पनि चुनाव लड्न पाउने छैनन्।

 

प्रतिक्रिया दिनुहोस
Advertisement