काठमाण्डु – दोलखाको गौरीशंकर गाउँपालिका ९ बेदिङमा मतदाताहरूले निर्वाचन बहिष्कार गरेका छन् । दुर्गम बस्ती बेदिङका स्थानीयवासीले उम्मेदवारहरू गाउँमै मत माग्न नआएको भन्दै मतदान नै बहिष्कार गरेका हुन् ।
बिहीबार बिहान साढे ११ बजेसम्म कोही पनि मतदाता मतदान केन्द्रमा गएका छैनन् । कर्मचारीहरू पर्खिरहेको प्रमुख जिल्ला अधिकारी हरी प्रसाद घिमिरेले बताए ।
बेदिङमा रहेका १ सय ३३ जना मतदाताले आफूहरूको गाउँमा कुनै पनि उम्मेदवार वा राजनीतिक दलका प्रतिनिधि मत माग्न नआएको भन्दै मतदान नगर्ने निर्णय गरेका हुन्।
निर्वाचनका बेला नेताहरूले दुर्गम क्षेत्रका समस्या समाधान गर्ने आश्वासन दिएपनि व्यवहारमा भने सधै उपेक्षा गरेकेो बेदिङवासीको गुनासो छ ।
स्थानीयहरूले दुर्गम बस्तीका आधारभूत समस्या, सडक, सञ्चार तथा स्वास्थ्य सेवाजस्ता विषयमा राज्यको ध्यान पुग्न नसकेको गुनासो गरेका छन् । उम्मेदवारहरूले गाउँमै पुगेर स्थानीयसँग संवाद नगरेसम्म आफूहरूले मतदानमा सहभागी नहुने उनीहरूको अडान छ ।
बेदिङमा १ सय ३३ जना मतदाता रहेको निर्वाचन कार्यालयले दोलखाले जनाएको छ । दुर्गम भौगोलिक अवस्थाका कारण पनि यो क्षेत्र राजनीतिक दल र उम्मेदवारहरूको पहुँचभन्दा टाढा परेको छ ।
दल र मतदाता अनुपस्थित
ओखलढुङ्गाको मानेभन्ज्याङ–७ स्थित सातसल्लेको शहीद स्मृति आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा १२ बजेसम्म १ जना पनि मतदाताले मतदान गरेका छैनन् ।
उनीहरुले मतदान नगर्ने निर्णय गर्दै निर्वाचन बहिष्कारको घोषणा गरेका हुन् ।
टोक्सेलको हर्कपुरमा प्रादेशिक अस्पताल स्थापना गर्न जग्गा दिएका स्थानीयहरूले अस्पताल स्थापना गर्ने काम सरकारले अघि नबढाएपछि उनीहरुले आम भेलाबाटै मतदान प्रक्रियामा सहभागी नहुने घोषणा गरेका थिए ।
स्थानीयको माग सरकारले नसुनेपछि उनीहरु नो भोट अभियानमा लागेका हुन् । निर्वाचनमा खटाइएका कर्मचारीहरूले जनप्रतिनिधिहरूको रोहबरमा मुचुल्का उठाएर बसे पनि एक जना पनि मतदाता नआएको मुख्य निर्वाचन अधिकृत हरिप्रसाद कोइरालाले बताए ।
उक्त केन्द्रमा ७०१ मतदाता छन् । स्थानीयले १६७ रोपनी जग्गा दिएर प्रादेशिक अस्पताल बनाउने प्रक्रिया थालिए पनि काम अघि बढेको छैन ।




प्रतिक्रिया