उम्मेदवारले तीन वटासम्म सम्पर्क कार्यालय खोल्न पाउने

उम्मेदवारले तीन वटासम्म सम्पर्क कार्यालय खोल्न पाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – निर्वाचन आयोगले मंसिर ४ गते हुने संघ र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारलाई सम्पर्क कार्यालय खोल्ने सम्बन्धमा सीमा तोकेको छ ।

आयोगले मंगलबार सात बुँदे निर्देशन जारी गर्दै प्रतिनिधिसभाका उम्मेदवारले आफ्नो निर्वाचन क्षेत्रमा प्रदेश निर्वाचन क्षेत्रलाई समेट्ने गरी बढीमा तीनवटा सम्पर्क कार्यालय खोल्न पाउने र प्रदेशसभाका उम्मेदवारले एउटा मात्र सम्पर्क कार्यालय खोल्न पाउने गरि सीमा तोकेको हो ।

यस्तै आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभाका समानुपातिकतर्फ बन्दसूचीमा उम्मेदवारी पेस गरेका दलले प्रतिनिधिसभा सदस्यको निर्वाचन क्षेत्रमा एउटा सम्पर्क कार्यालय खोल्न सक्ने र सम्भव भएसम्म एउटै स्थान प्रयोग गर्न निर्देशन दिएको छ ।

प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यतर्फ उम्मेदवारी दिई निर्वाचन चिन्ह प्राप्त गरी सकेपछि त्यस्ता उम्मेदवारले अन्य कुनै उम्मेदवारलाई समर्थन गरेको भएमा त्यस्ता उम्मेदवारले सम्पर्क कार्यालय स्थापना गर्न नपाउने आयोगले  जनाएकाे छ ।

यता प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि घर भाडामा लिई सम्पर्क कार्यालय स्थापना गरेको भएमा त्यस्तो घरको घर भाडा उम्मेदवारको निर्वाचन खर्चमा समावेश गर्नुपर्ने आयोगको निर्देशनमा उल्लेख छ ।