काठमाण्डु – निर्वाचन आयोगले काठमाण्डु महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितलाई स्पष्टीकरण सोधेको छ । आयोगले स्थापितलाई पत्र पठाएर स्पष्टीकरण माग गरेकाे हाे ।
सार्वजनिक कार्यक्रममा एक युवतीले सोधेको प्रश्नमा स्थापितले भनेका थिए– यू आर नाइस लेडी तर थुतुनो राम्रो भएन’ भन्ने अभिव्यक्ति दिएका थिए । सोही विषयमा २४ घण्टे स्पष्टीकरण सोधिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
‘हामीले निर्वाचन आचारसंहिता विपरीत भयो कि भएन ? तपाईंले यस्तो भन्नुभएको हो कि होइन ? २४ घण्टाभित्र स्पष्टीकरण दिनू भनेर पत्र पठाएका छौँ,’ उनले भने ।
नेकपा एमालेले काठमाण्डु महानगरमा सत्ता गठबन्धनकी उम्मेदवार सिर्जना सिंहसँग प्रतिस्पर्धा गर्न स्थापितलाई मेयरको उम्मेदवार बनाएको हो । उनीमाथि केहि वर्ष अघि यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो ।
विभिन्न महिला अधिकारकर्मी संघ संस्थाहरुले समेत स्थापितलाई कारबाही गर्नुपर्ने माग गर्दै उनको उम्मेदवारी खारेज गर्न माग गर्दै आइरहेका छन् । स्थापितले सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिबारे आयोगमा परेको उजुरीका आधारमा स्पष्टीकरण सोधिएको हाे।




प्रतिक्रिया