आचारसंहिता पालना गर्न राजनीतिक दल र उम्मेदवारलाई आयोगको सात बुँदे निर्देशन

आचारसंहिता पालना गर्न राजनीतिक दल र उम्मेदवारलाई आयोगको सात बुँदे निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि जारी आचारसंहिता कार्यान्वयन गर्न राजनीतिक दल तथा उम्मेदवारलाई निर्देशन दिएको छ ।

आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालले एक प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचन आचारसंहिता विपरीतका अन्य व्यवस्थाको उल्लङ्घन भएमा प्रचलित कानून बमोजिम जरिवाना तथा उम्मेदवारी खारेजसम्मको सजाय हुन सक्ने भन्दै सात बुँदे निर्देशन दिएका हुन् ।

आयोगले राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन आचारसंहिताको व्यवस्था आफूले पालना गर्न र अरुसमेतलाई पालना गर्न लगाउन भन्दै आचारसंहिता उलङ्घन भएमा कारबाहीको चेतावनी समेत दिएको छ ।

लाभको पदमा रहेका कतिपय राजनीतिक व्यक्तित्वबाट निर्वाचन प्रचारप्रसारमा सरकारी स्रोत साधन उपयोग गरको, घरदैलो कार्यक्रममा सुरक्षाकर्मीसहित २५ जनाभन्दा बढी सङ्ख्याको जुलुस लिई हिँड्ने, राजनीतिक दलले जुलुस, आमसभा, कोणसभा वा भेला आयोजना गर्ने, अनुमति नलिई निर्वाचन प्रचारप्रसारका लागि सवारी साधन प्रयोग गर्ने समेतका गतिविधि भएको भन्ने सूचना आएकाले उक्त निर्देशन दिइएको आयोगले बताएको छ ।

आयोगले आचारसंहिताको दफा ५ मा नेपाल सरकार तथा प्रदेश सरकारका मन्त्रीले आफू उम्मेदवार भएको क्षेत्रमा प्रचार प्रसार गर्न बाहेक निर्वाचन आयोगको सहमति नलिई अन्यत्र कुनै दल वा उम्मेदवारको प्रचार प्रसार गर्न नपाइने समेत स्पष्ट गरेको छ ।