निर्वाचन आयोगले लोकसेवालाई भन्यो-उपसचिवको परीक्षा स्थगित गर्नू

निर्वाचन आयोगले लोकसेवालाई भन्यो-उपसचिवको परीक्षा स्थगित गर्नू


काठमाण्डु – लोकसेवा आयोगले लिन लागेको उपसचिव (अप्राविधिक/प्राविधिक) तहको परीक्षा स्थगित गर्न निर्वाचन आयोगले आग्रह गरेको छ ।

आगामी निर्वाचनलाई लक्षित गर्दै सम्पूर्ण परीक्षा स्थगित गर्न लोकसेवा आयोगलाई निर्वाचन आयोगले पत्राचार गरेको छ ।

लोकसेवा आयोगले उपसचिव (अप्राविधिक÷प्राविधिक) तहको परीक्षा माघमा लिने तयारी गरेको छ । लोकसेवा आयोगले गत असोज २९ गते राजपत्रांकित द्वितीय श्रेणी (अप्राविधिक/प्राविधिक) उपसचिव वा सो सरहको लिखित परीक्षाको मिति माघ १० गतेदेखि २८ गतेसम्म निर्धारण गरेको छ ।

माघ पहिलो सातादेखि निर्वाचन आचारसंहिता लागू हुने र कर्मचारी निर्वाचनमा खट्नुपर्ने भएकाले माघमा हुने उपसचिव (अप्राविधिक/प्राविधिक) तहको परीक्षा स्थगित गर्न निर्वाचन आयोगले लोकसेवा आयोगलाई पत्राचार गर्दै आग्रह गरेको हो ।

यस्तै निर्वाचन आयोगले यस अगाडि नै अधिकृतस्तरका कर्मचारीलाई जिल्ला छोड्न प्रमुख जिल्ला अधिकारीको अनुमति लिनुपर्ने र निर्वाचनमा खटाउनुपर्ने भएका कारण प्रमुख जिल्ला अधिकारीबाट अनुमति नपाई बिदामा निस्कन नपाउने पनि निर्देशन गरिसकेको छ ।

आयोगले उक्त परीक्षा फागुन २१ गतेको निर्वाचन, मतगणना, समानुपातिक निर्वाचन प्रणालीतर्फको अन्तिम नतिजा प्रकाशन सम्पूर्ण कार्यसम्पादन भैसकेपश्चात परीक्षा सञ्चालन गर्ने गराउने, व्यवस्थाका लागि लोक सेवा आयोगलाई अनुरोध गरेको हो ।