काठमाण्डु – निर्वाचन आयोगले बेशाख १० गते हुने उपनिर्वाचनको आचारसंहिता विपरीतका गतिविधि कडाइका साथ अनुगमन र निगरानी गर्न सरोकारवालालाई निर्देशन दिएको छ ।
आयोगले पाँच बुँदे निर्देशन जारी गर्दै आचारसंहिता विपरीतका गतिविधि गर्नेलाई मतदान सम्पन्न नभएसम्म कब्जामा लिइ कारबाही गर्न भनेको छ ।
आयोगका सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेले शुक्रवार जारी गरेको विज्ञप्तिमा उपनिर्वाचन हुने जिल्लामा आचारसंहिता प्रतिकूल हुने गतिविधिको निगरानी तथा नियन्त्रणका लागि सूक्ष्म अनुगमन गरी आचारसंहिता पालना गराउने तथा निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ दफा २४ को उपदफा ५ को व्यवस्था कार्यान्वयनको अनुगमन गर्न विशेष संयन्त्रमार्फत सूक्ष्म अनुगमन गरिएको उल्लेख छ ।
वैशाख १० गते आइतबार भन्दा ४८ घण्टा अघिदेखि मतगणनाको काम सम्पन्न नभएसम्म प्रचारप्रसार गर्न निषेध गर्नेगरी आयोगले गएरातिदेखि मौन अवधि लागू गरेको छ । विज्ञप्तिमा निर्वाचन आचारसंहिता, २०७९ को दफा ३२ बमोजिम सम्बन्धित जिल्लाका कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुखलाई निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकिएको पनि उल्लेख छ ।






प्रतिक्रिया