काठमाण्डु- हरेक निर्वाचनमा नयाँ प्रतिनिधि छान्ने प्रवृत्तिका लागि परिचित काठमाण्डु–२ मा चुनावी सरगर्मी बढ्दै गएको छ ।
निर्वाचन आचार संहिताका अनुसार औपचारिक चुनावी प्रचार फागुन ४ गतेपछि मात्र गर्न पाइन्छ । त्यसअघि घरदैलो अभियान र सार्वजनिक चुनावी सभा गर्न उम्मेदवारहरूलाई निषेध गरिएको छ ।
तर पनि काठमाण्डु–२ मा चुनावी सरगर्मी बढेको छ । मतदाताहरू मतदान गर्न आतुर छन् भने उम्मेदवारमा पनि उत्साह बढेको छ ।
आचारसंहिताले औपचारिक प्रचार गर्न रोकेपनि उम्मेदवारहरू निष्क्रिय भने छैनन् । उनीहरू मतदातासँग प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सम्पर्क गरी मत मागिरहेका छन् ।
काठमाण्डु–२ मा २८ जना उम्मेदवार छन् । तीमध्ये १६ जना मात्र राजनीतिक दलसँग आबद्ध छन् भने बाँकी स्वतन्त्र उम्मेदवार हुन् । राजनीतिक दलका नेताहरूका अनुसार तीमध्ये केही ठूला दलका ‘डमी’ उम्मेदवार पनि छन् ।
निर्वाचन आचारसंहिता छल्न ठूला दलहरूले डमी उम्मेदवार खडा गरेको आरोप छ । यसअघि पनि निर्वाचनमा यस्ता गतिविधि देखिएका थिए । यसपटक पनि यहाँ दलहरूले उही शैली अपनाएका छन् ।
नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाहेक कुनै पनि दलले अघिल्लो निर्वाचनकै उम्मेदवार दोहो¥याएका छैनन् ।
विघटित प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले ३८ वर्षीय कबिर शर्मा (फुयाल) लाई उम्मेदवार बनाएको छ । उनी क्षेत्रीय सभापति भइसकेका छन् र स्थानीय रूपमा परिचित हुन् ।
नेकपा (एमाले) ले २०७९ सालमा पराजित मणिराम फुयाललाई पुनः उम्मेदवार बनाएको छ । उनी २०७२ सालमा प्रदेशसभामा निर्वाचित भइसकेका हुन् ।
४१ वर्षीय सुनील केसी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हुन् । यस्तै कुन्तीदेवी पोखरेल राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार हुन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पनि यस क्षेत्रमा युवा अनुहार अघि सारेको छ ।
नेकपा सहसंयोजक माधवकुमार नेपालले यसअघि जितेको काठमाण्डु-२ मा नेकपाका उम्मेदवार नितेश पौडेल छन् । उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सचिवालयमा कार्यरत थिए । उनले एमालेमार्फत युवा संघमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको रूपमा चिनिन्छन् । एमाले विभाजनपछि पनि उनले युवा संघको नेतृत्व गरिरहे । २०७२ को आम निर्वाचनमा माधवकुमार नेपाल यही क्षेत्रबाट निर्वाचित भएका थिए ।
प्रगतिशील लोकतान्त्रिक पार्टी, उज्यालो नेपाल, श्रम संस्कृति, राष्ट्रिय मुक्ति, राष्ट्रिय परिवर्तन र आम जनता पार्टीजस्ता नयाँ दलहरूले पनि यहाँ उम्मेदवारी दिएका छन् ।
८८,७०८ मतदाता रहेको यस क्षेत्रमा नतिजा पूर्वानुमान गर्न कठिन छ । यो क्षेत्र काठमाण्डुका १० निर्वाचन क्षेत्रमध्ये दोस्रो ठूलो मतदाता संख्या भएको क्षेत्र पनि हो । सबैभन्दा बढी मतदाता भने काठमाण्डु–१० मा छन् ।
यस निर्वाचन क्षेत्रमा काठमाण्डु महानगरपालिकाका वडा ९ र ३२, कागेश्वरी मनोहरा नगरपालिकाका वडा ४ देखि ९ सम्म तथा शंखरापुर नगरपालिकाका वडा १ देखि ९ सम्म पर्छन् ।

सधै फरक अनुहार
मतदाताहरूका अनुसार काठमाण्डुमा–२ मा करिब चार किसिमका मतदाता मनोवृत्ति छन्, जसको सम्बन्ध शहरी पहुँच र दुर्गम ग्रामीण भूगोलसँग जोडिएको छ ।
यस क्षेत्रका बासिन्दाको आवश्यकता फरक छन् र मतदाताको मनोविज्ञान पनि भिन्न छ । यही कारणले यो निर्वाचन क्षेत्रले बारम्बार आफ्नो प्रतिनिधि परिवर्तन गर्ने गरेको मानिन्छ ।
दलहरूले विगतमा पाएको मत र हरेक निर्वाचनमा फेरिएका विजेता अनुहार हेर्दा यसपटकको निर्वाचनमा यो क्षेत्रमा कसको पल्ला भारी हुनेछ भन्ने अहिले नै अनुमान गर्नु हतारो हुनेछ ।
राजधानीकै अंग भए पनि यो क्षेत्र ओझेलमा परेकाले हुनुपर्छ, त्यहाँका स्थानीय निर्वाचनैपिच्छे फरकफरक अनुहार खोज्छन् ।
यसअघि यही क्षेत्रबाट निर्वाचित रास्वपा नेतृ सोविता गौतमले यसपटक उम्मेदवारी नदिई चितवन–३ बाट चुनाव लड्दै छिन् ।
२०७९ को निर्वाचनमा यो क्षेत्रले अप्रत्याशित नतिजा दिएको थियो । दोलखाकी रास्वपा उम्मेदवार गौतम १५,२३८ मतसहित निर्वाचित भएकी थिइन् । उनका प्रतिस्पर्धी एमालेका फुयालले ११,५६६ र राप्रपाकी कुन्तीदेवी पोखरेलले ११,०२४ मत पाएकी थिइन् ।
नेपाली कांग्रेस र तत्कालीन गठबन्धन नेकपा (माओवादी केन्द्र) का साझा उम्मेदवार पूर्वसभामुख ओनसरी घर्ती मगरले ९,४५९ मत प्राप्त गरेकी थिइन् ।
२०७९ मा राप्रपाबाट काठमाण्डुं–२ (क) मा निर्वाचित बागमती प्रदेशसभा सदस्य सुनील केसी यसपटक रास्वपाबाट उम्मेदवार बनेका छन् ।
राप्रपाबाट जिते पनि केसी काठमाण्डु महानगरपालिकाका पूर्व मेयर तथा हाल रास्वपाका वरिष्ठ नेता बालेन शाहको समूहमा थिए । प्रदेशसभा निर्वाचनअघि सम्पन्न स्थानीय तह निर्वाचनमा शाहको जितमा उनको महत्त्वपूर्ण भूमिका थियो ।
उनी राप्रपामा आबद्ध भए पनि पार्टीका गतिविधि वा संसदीय दलका बैठकमा सक्रिय देखिएनन् । एक समय शाहका निकट मानिएका केसी अहिले शाहकै सिफारिसमा काठमाण्डु–२ का उम्मेदवार बनेका छन् ।
२०४८ सालको पहिलो आमनिर्वाचनमा यो क्षेत्रबाट नेपाली कांग्रेसका दमननाथ ढुंगाना निर्वाचित भएका थिए । त्यसैगरी २०५१ सालमा एमालेकी विद्यादेवी भण्डारी निर्वाचित भइन् ।
२०६४ सालमा माओवादी केन्द्रका झक्कु सुवेदीले जित हासिल गरे । २०६४ सालको संविधानसभापछि पनि उक्त क्षेत्रमा उम्मेदवार फेरिने क्रम रोकिएन ।
पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन एमाले महासचिव माधवकुमार नेपाल उम्मेदवार बनेका थिए । तर उनलाई तत्कालीन नेकपा माओवादीका झक्कु सुवेदीले पराजित गरे ।
चुनाव जित्नुअघि सुवेदीको कुनै चर्चा नभएका उनले अप्रत्यासित परिणाम निकालेपछि सुवेदी त्यो कार्यकालभरि चर्चामा रहे । २०७० सालमा तत्कालीन एमाले नेता माधवकुमार नेपालले दुवै क्षेत्रमा चुनाव जिते ।
रौतहट–१ मा जित कायम राखेर काठमाडौँ–२ छाड्दा एमालेले उक्त क्षेत्र गुमायो । त्यसपछि भएको उपनिर्वाचनमा यस क्षेत्रमा नेपाली कांग्रेसका दीपकप्रससाद कुइँकेल निर्वाचित भए ।
२०४८ देखि २०७९ सालसम्म आउँदा यो क्षेत्रमा कांग्रेस र एमालेकै रजगज चल्यो । तर २०७९ ािलमा यो क्षेत्रमा कांग्रेस र एमालेको विरासत भत्कियो । यो क्षेत्रले अप्रत्यासित नतिजा दियो र रास्वपाले आफ्नो उपस्थिति जनायो ।




प्रतिक्रिया