निर्वाचन आचारसंहितामा त्रुटी : उम्मेदवार र दलले नै भाेट माग्न नपाउने, एमालेको आपत्ति

निर्वाचन आचारसंहितामा त्रुटी : उम्मेदवार र दलले नै भाेट माग्न नपाउने, एमालेको आपत्ति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – निर्वाचन आयोगले जारी गरेको स्थानीय तह निर्वाचन आचारसंहितामा गम्भीर त्रुटि भेटिएको छ । आयोगले जारी गरेको ‘निर्वाचन आचारसंहिता २०७८’ मा भएको व्यवस्थामा राजनीतिक दल र तिनीहरूका प्रतिनिधिले चुनाव प्रचार प्रसार गर्न नपाइने तथा बिचार ब्यक्त गर्न नपाइने व्यवस्था गरेको पाइएको छ ।

आचारसंहितामा ‘निर्वाचन आचारसंहिता २०७८’ को दफा ४ मा ‘सबैले पालन गर्नुपर्ने आचरण’ मा ‘दफा ३ बमोजिमका व्यक्ति, संस्था, निकाय तथा अधिकारीले देहाय बमोजिमका आचरण पालना गर्नुपर्नेछ’ भनेर उल्लेख गरिएको छ ।

जसको खण्ड (थ) मा निर्वाचनमा प्रभाव पर्नेगरी कसैको पक्ष वा विपक्षमा विचार राख्न, प्रचार प्रसार गर्न, कुनै विद्युतीय सामाग्री उत्पादन गर्न तथा सामाजिक सञ्जालमा प्रकाशन गर्न वा अरूले प्रकाशन गरेका सामाग्री शेयर गर्न नहुने’ भनेर उल्लेख गरिएको छ ।

यसै खण्डमा ‘तर आयोगले तयार गरेको निर्वाचन तथा मतदाता शिक्षा सामाग्री प्रकाशन वा पोष्ट गर्न यस खण्डले बाधा पुर्‍याएको मानिने छैन ।’ भनेर उल्लेख गरेको छ । दफा ४ मा ‘दफा ३ मा उल्लेखित’ भनेर परिभाषित गरिएका व्यक्ति, संस्थाहरूमा उम्मेदवार, राजनीतिक दल, दलका भ्रातृसंस्थाहरू समेत छन् ।

दफा ३ मा आचारसंहिता लागू हुने व्यक्ति, संस्था, निकाय तथा अधिकारीहरू अन्तर्गत खण्ड (झ) मा राजनीतिक दल तथा दलको भ्रातृसंगठन, खण्ड (ञ) मा उम्मेदवार तथा उम्मेदवारको प्रतिनिधि र खण्ड (ट) मा राजनीतिक दल तथा उम्मेदवारको मतगणना प्रतिनिधिसम्मलाई तोकेको छ । यसरी यस्तो व्यवस्थाहरूको आशय अनुसार उम्मेदवार, दल र दलका भातृसंस्था तथा प्रतिनिधिहरूले नै प्रचार–प्रसार गर्दा आचारसंहिताको उल्लंघन हुने देखिन्छ ।

एमालेको असन्तुष्टि

आयोगले जारी गरेको उक्त आचारसंहिताप्रति नेकपा एमालेले आपत्ति जनाएको छ । मंगलबार आयोगले ७९ दललाई बोलाई निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्न लगाएको थियो । तर, साना दलहरुले होहल्ला गरेकोले हस्ताक्षर गर्ने अवस्था नभएको भन्दै फर्किएको एमालेले आयोगले जारी गरेको आचारसंहितामा केही त्रुटिहरु रहेको भन्दै असन्तुष्टि जनाएको हो ।

एमालेका नेता सुवास नेम्वाङले निर्वाचन आयोगले आचारसंहिता निर्माणका क्रममा एकलौटी निर्णय लिएको बताए । उनले आयोगले आचारसंहिता निर्माणका क्रममा दलहरुसँग छलफल नगरेको र प्रतिज्ञापत्रमा हस्ताक्षर गर्नुअघि पनि दलहरूलाई आफ्नो कुरा राख्ने अवसर नदिएको बताए ।

‘नेकपा एमाले समयमै निर्वाचन हुनुपर्छ, निर्वाचनका लागि आचारसंहिता हुनुपर्छ र आचारसंहिता अनुसार चुनाव हुनुपर्छ भन्नेमा दृढ छ । त्यहाँ त्यस्ता केही विषयहरु छन्, जसमा हाम्रा असहमति छन् । त्यसबारेमा छलफल गरौं न भन्ने एमालेको भनाइ हो,’ उनले भने, ‘त्यसमा हिजो छलफल गरिएन । छलफल नगरीकनै हामीले हस्ताक्षर गर्ने कुरै भएन, त्यसपछि बैठक उठ्यो । हामीले लफडा गरेका होइनौं ।’

निर्वाचनमा उठ्ने तर आफ्नो पक्षमा भोट माग्न नपाउने भन्ने प्रावधानमा काँग्रेस र माओवादीले भने हस्ताक्षर गरेको छ ।

हस्ताक्षर नगर्ने दलमा पनि आचारसंहित लागू हुने

हस्ताक्षर नगर्ने दलहरुलाई पनि आचारसंहिता लागू हुने निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले अबको तीन दिनभित्र आचारसंहिता लागू हुने र प्रतिवद्धतापत्रमा हस्ताक्षर नगर्ने दलहरुलाई समेत लागू हुने बताए । त्यस्तै आयोगले मिडिया र सामाजिक सञ्जालको अनुगमनका लागि आजै कार्यदल बनाउने तयारी गरेको छ ।