निर्वाचनमा बुथ कब्जा भएको भन्दै एमालेले गरायो आयोगको ध्यानाकर्षण


काठमाण्डु- नेकपा एमालेले मंसिर ४ गते भएको संघ र प्रदेशसभा निर्वाचन सम्बन्धी निर्वाचन आयोगलाई १० बुँदे ध्यानाकर्षण गराएको छ ।

विभिन्न निर्वाचन क्षेत्रमा मतदानका क्रममा अनियमितता र बुथ कब्जा भएको भन्दै एमालेले ती क्षेत्रमा पुनः मतदान गराउन आयोगको ध्यानाकर्षण गराएको हो । एमालेले सुनसरी–४ को मतगणना तत्काल अघि बढाउन पनि आग्रह गरेको छ ।

मतगणनामा निर्वाचन क्षेत्र अनुसार मत बदर र सदर सम्बन्धमा फरक–फरक मापदण्ड अपनाउने, निर्वाचित भएको व्यक्तिलाई कसैलाई प्रमाणपत्र तत्काल लिने र कसैलाई नदिई राख्ने कार्य पूर्णतः कानून प्रतिकुल रहेको १० बुँदे ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

त्यस्तै धनुषा क्षेत्र नं. २ मा मतगणना गर्दा सदर हुनुपर्ने मत बदर गरिएकोले त्यसमा पुनः मत गणना गरिनुपर्ने एमालेको माग छ ।

एमालेले आयोगलाई बुझाएको १० बुँदे ध्यानाकर्षण-पत्र

श्री निर्वाचन आयोग
कान्तिपथ, काठमाण्डु

विषयः अनियमितता र बुथ कब्जा भएको स्थानमा पुनः मतदान गर्ने सम्बन्धमा ।

१. प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको क्रममा २०७९ मङ्सिर ४ गते बाजुरा, स्याङ्जा र दोलखा जिल्लामा बुथ कब्जा भएको सम्बन्धमा सोही दिनमा नै नेकपा
(एमाले)का उम्मेदवारहरुले निर्वाचन अधिकृत तथा निर्वाचन आयोगसमक्ष पुनः मतदानका लागि निवेदन दिएका थिए । आयोगबाट समेत प्रारम्भिक रुपमा निवेदनमा उल्लेख भएको स्थानमा बुथ कब्जा र अनियमितता भएको भन्ने प्रारम्भिक तथ्यबाट देखिएको हुँदा नै आयोगबाट कर्मचारी खटाई स्थलगत प्रतिवेदन प्राप्त गर्नेक्रममा रहेको स्पष्ट देखिन्छ ।

२. यसक्रममा आयोगले दोलखाको १० वटा मतदान केन्द्रमा पुनः मतदानको आदेश भएको रहेछ । हाम्रो उम्मेदवारले माग गर्नुभएको अन्य कब्जा भएको स्थानहरु कालिञ्चोक १ नं बेगुम्पा मतदान केन्द्र क र ख, शैलुङ्ग गाउँपालिका वडा नं २ भुसाफेदा नविन मावि मतदान केन्द्रमा स्वतन्त्र निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन नभएको हुँदा ती मतदान केन्द्रमा पुनः मतदानको आदेश गरिनुपर्दछ ।

३. यसरी नै स्याङ्जा जिल्लाको चापाकोट नगरपालिका वडा नं ३ दिसिङ्गकोट आधारभुत मावि कमेरे, वडा नं ४ को राम मन्दिर मा.वि. दार्सिङ्ग नरसेवा र ऐ को वडा नं ५ जनसक्रिय आधारभुत विद्यालय चिठ्ठी पोखरी र दिनदयालु आधारभुत विद्यालय साटीमुरेका सबै मतदान केन्द्रमा बुथकव्जा भएको, मृत्यु भएका र विदेशमा रहेका मतदाताको नामबाट मतदान भएको कारण स्वतन्त्र, निस्पक्ष र भयरहित तबरले मतदान सम्पन्न हुन नसकेको हुँदा ती मतदान केन्द्रमा पुनः मतदानको आदेश हुनुपर्दछ ।

४. यसरी नै बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका वडा नं २ को त्रिभुवनेश्वरी मा.वि. मतदान केन्द्र, ऐ को वडा नं ३ को मष्टेश्वरी आधारभुत विद्यालय, ऐ वडा नं ७ को नाटेश्वरी आधारभुत विद्यालय, ऐ वडा नं ८ को नवदुर्गा आधारभुत विद्यालय, खप्तडछेडा गाउँपालिका वडा नं २ को मालिका मा.वि. मतदान केन्द्र, ऐ वडा नं ४ को खापरदेवस्थली मा.वि., बुढीगंगा नगरपालिका वडा नं ७ शारदा मा.वि. मतदान केन्द्र, ऐको वडा नं ४ थमा मा.वि मतदान केन्द्र, ऐ वडा नं ८ को गिरिखेल्ने आधारभुत विद्यालय मतदान केन्द्र, बुढीनन्दा नगरपालिका वडा नं ५ को नन्देश्वरी मतदान केन्द्र, ऐ को वडा नं. ७ को घटाल आधारभुत विद्यालय, ऐ को वडा नं ९ को हिमाली आधारभुत विद्यालय र हिमाली गाउँपालिका वडा नं ५ को बागेश्वरी आधारभुत विद्यालय र ऐ को वडा नं ६ को बढीमालिका मा.वि. मतदान केन्द्रमा बुथ कब्जा गरेको, एमालेका प्रतिनिधिलाई कुटपिट गरी हटाएको र विपक्षी उम्मेदवारका प्रतिनिधिले फर्जी मतदान गरेको सम्बन्धमा बाजुरा जिल्लाका उम्मेदवारले निर्वाचन अधिकृतसमक्षमा तत्काल निवेदन गरेको र ती स्थानमा स्वतन्त्र, निस्पक्ष र भयरहित तबरले मतदान सम्पन्न हुन नसकेको हुँदा ती मतदान केन्द्रमा पुनः मतदानको आदेश हुनुपर्दछ ।

५. उदयपुर क्षेत्र नं. १ मा कतिपय मतदान केन्द्रमा अतिरिक्त मतपत्र गणनाका क्रममा फेला परेको र गणनाअघि भन्दा शंकास्पद अवस्थामा मतपेटिका फेला परेकोले ती स्थानमा समेत पुनः मतदानको व्यवस्था गरियोस् ।
६. सुनसरी–४ को मतगणना क्रममा बहालवाला मन्त्री (उम्मेदवार) को दवावमा स्थगित मतगणना स्थगित गरिएको छ । मतगणना पुनः सुरु गरियोस् ।

७. धनुषा क्षेत्र नं. २ मा मतगणना गर्दा सदर हुनुपर्ने मत बदर गरिएकोले त्यसमा पुनः मत गणना गरिनुपर्ने ।

८. काभे्र जिल्ला निर्वाचन क्षेत्र नं. १ को ख मा प्रदेशसभाको मतगणना गर्दा सदर हुनुपर्ने मतलाई गणना नगरिएको हुँदा पुनः मत गणना गरिनुपर्ने ।

९. निर्वाचनमा मतदाताले स्वतन्त्र र भयरहित वातावरणमा मतदान गर्न पाउनुपर्दछ । एउटाको मत अर्को व्यक्तिले आफुखुशी खसाउने, मृत्यु भएका, विदेशमा रहेका र निर्वाचनमा जिल्ला बाहिर खटिएको व्यक्तिले मतदान गरेको वा बुथ कब्जा भएको अवस्थामा पुनः शान्ती सुरक्षाको व्यवस्था मिलाई मतदान गर्नु÷गराउनु निर्वाचन आयोगको कर्तव्य हो । निर्वाचन आयोगले आफ्नो कर्तव्यबाट च्युत भई सत्ता गठबन्धनको उम्मेदवारको पक्षपोषण नगरी पुनः मतदानको आदेश गर्न र तदअनुरुप नै मतदान सम्पन्न गराउन अनुरोध गर्दछौं ।

१०. यसरी नै मतगणनामा निर्वाचन क्षेत्र अनुसार मत बदर र सदर सम्बन्धमा फरक–फरक मापदण्ड अपनाउने, निर्वाचित भएको व्यक्तिलाई कसैलाई प्रमाणपत्र तत्काल लिने र कसैलाई नदिई राख्ने कार्य पूर्णतः कानून प्रतिकुल छ । नेकपा (एमाले)का उम्मेदवार बसन्त नेम्वाङलाई पाँचथरमा निर्वाचित भएको प्रमाणपत्र नदिई रोक्ने कुराले सत्ता गठबन्धन धाँधली गर्ने तयारीमा लागेको छ भन्ने आशंका सिर्जना भएको छ । यसैले निर्वाचित प्रमाण–पत्र दिन आग्रह गर्दछौ । यसरी नै प्रत्यक्षतर्फ र समानुपातिकमा प्रत्येक निर्वाचन क्षेत्रबाट प्राप्त समानुपातिकतर्फको मतहरु यस दललाई उपलब्ध गराई कूल योगफल मिले/नमिलेको हेर्न सकिने गरी पारदर्शिता अपनाउने व्यवस्था मिलाउनुहुन अनुरोध छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement