विद्युतीय रेलमार्ग निर्माण सुरु हुने

विद्युतीय रेलमार्ग निर्माण सुरु हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारले आर्थिक वर्ष २०७७-७८ मा सडक, सुरुङमार्ग, रेलमार्ग, जलमार्ग निर्माण तथा अध्ययनको कार्यलाई प्राथमिकता दिने भएको छ । त्यसैगरी तीन सय सडक पुलको निर्माण गर्ने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संयुक्त सदनमा आर्थिक वर्ष २०७७÷७८ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै आगामी तीन वर्षभित्र काठमाडौँ÷तराई द्र्ुतमार्गको निर्माण सम्पन्न गर्ने बताउनुभयो ।

त्यसैगरी राजधानी भित्रिने मुख्य नाकाका रूपमा रहेको नागढुङ््गा–नौबीसे सडक खण्डमा निर्माणाधीन २.६८ किलोमिटर सुरुङमध्ये आर्थिक वर्ष २०७७÷७८ मा एक किलोमिटरको निर्माण सम्पन्न गर्ने घोषणा गर्नुभयो । आर्थिक वर्ष २०७७-७८ मा सिद्धार्थ राजमार्गको बुटबल–पाल्पा खण्डको सिद्धबाबा सुरुङमार्गको निर्माण सुरु गरिने छ भने बेत्रावती–स्याफ्रुबेँसी–टोखा–छहरे, गुर्जे भञ्जाङ, खुटिया दिपायललगायतका सुरुङमार्ग अगाडि बढाउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

मदन भण्डारी राजमार्गलाई पाँच वर्षभित्र सुरु गरिने बताउँदै उहाँले आगामी आर्थिक वर्षभित्र १५५ किलोमिटर सडक कालोपत्रे गर्नुका साथै झापा–धरान खण्डमा पुल तथा सडक निर्माण कार्य सुरु गरिने घोषणा गर्नुभयो । त्यसैगरी पूर्व–पश्चिम राजमार्गलाई द्रुतगतिको राजमार्गका रूपमा विकास गरिने बताउनुभयो । यस कार्यक्रमअन्तर्गतको नारायणघाट–बुटबल खण्ड र कमला–कञ्चनपुर खण्डको विस्तार कार्य अबको तीन वर्षभित्र सम्पन्न हुने बताउनुभयो ।

आगामी आर्थिक वर्षमा मध्यपहाडी (पुष्पलाल) लोकमार्गको ३०१ किलोमिटर, हुलाकी राजमार्गको २५० किलोमिटर र उत्तर–दक्षिण लोकमार्गअन्तर्गतको कालीगण्डकी करिडोरको ९० किलोमिटर सडक कालोपत्रे गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । त्यसैगरी कोसी र कर्णाली करिडोर सडकको ट्रयाक खोल्ने काम सम्पन्न गरी स्तरोन्नति थालिने छ । त्यसैगरी गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक खण्डको स्तरोन्नति कार्य सुरु गरिने छ ।

आर्थिक वर्ष २०७७÷७८ भित्रमा नै भारतको जयनगरदेखि नेपालको बिजुलपुरासम्म रेल सेवा सञ्चालन हुनेगरी काम भइरहेको तथा पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माणसम्बन्धी विस्तृत आयोजना प्रतिवेदन तयार भएको नीति तथा कार्यक्रममा जनाइएको छ । आर्थिक वर्ष २०७७-७८ मा रसुवागढी–काठमाडौँ रेलमार्ग र वीरगञ्ज–काठमाडौँ रेलमार्गको प्रारम्भिक कार्य सुरु गरिने राष्ट्रपति भण्डारीले घोषणा गर्नुभयो । पूर्व–पश्चिम विद्युतीय रेलमार्गको पूर्वतयारी कार्य सम्पन्न गरी काँकडभिट्टा–इनरुवा खण्डको निर्माण सुरु गरिने छ ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।