राजावादीको प्रदर्शनलाई लिएर प्रधानमन्त्री ओलीले नबोलेको कुरा मिडियामा आउनु निराधार : एमाले

राजावादीको प्रदर्शनलाई लिएर प्रधानमन्त्री ओलीले नबोलेको कुरा मिडियामा आउनु निराधार : एमाले

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–नेकपा एमालेले केही नेपाली र विदेशी मिडियाहरूमा प्रकाशित समाचारबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सोमबार एक विज्ञप्ति जारी गर्दै पार्टी सचिवालय बैठकका विषयमा प्रकाशित समाचार निराधार र अतिरञ्जित भएको जनाएको हो ।

पार्टी महासचिव शङ्कर पोखरेलले जारी गरेको विज्ञप्तिमा पूर्व राजावादीहरुको केही दिनअघिको प्रदर्शनलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका भनेर प्रकाशित समाचार निराधार र अतिरञ्जित भएको भन्दै पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।

उनले ती समाचारले अनावश्यक रूपमा सनसनी फैलाउने एवम् नेपाल र भारतबिचको युगौँ पुरानो सम्बन्धमा आशङ्का बढाउने दुराशय बोकेका समेत बताएका छन् ।

यस्ताे छ विज्ञप्ति

नेकपा (एमाले) को हालै सम्पन्न सचिवालय बैठकसँग सम्बन्धित विषयमा केही नेपाली र विदेशी मिडियाहरूमा प्रकाशित समाचारबारे हाम्रो पार्टीको गंभीर ध्यानाकर्षण भएको छ , पूर्व राजावादीहरूको केही दिन अगाडिको प्रदर्शनलाई लिएर प्रधानमन्त्रीले भन्नुभएको भनेर प्रकाशित गरिएका विषय निराधार र अतिरञ्जित छन् । तिनले अनावश्यक सनसनी फैलाउने एवं नेपाल र भारत बिचको युगौं पुरानो सम्बन्धमा आशङ्का बढाउने दुराशय बोकेका छन् । नेपालको संविधान र हामीले अवलम्बन गरेको लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको सार्वभौम चयनको विषय हो । संसारका कुनै पनि लोकतान्त्रिक मुलुक र जनता लोकतन्त्रका ठाउँमा निरङ्कुशतन्त्रलाई प्रश्रय दिन सहमत हुन सक्दैनन् भन्ने कुरामा हामी स्पष्ट छौं । इतिहासको पाङ्ग्रालाई पछाडि फर्काउने कुनै पनि प्रयाशलाई नेपाली जनताले सहजै विफल पार्छन् भन्ने कुरामा हामी विश्वस्त छौं ।

नेकपा (एमाले) र पार्टी नेतृत्वको वर्तमान सरकार नेपाल–भारत सम्बन्धलाई अझ प्रगाढ बनाउन, कुनै विषय भए कुटनीतिक माध्यमबाट समाधान गर्न र बलियो विकास साझेदारी अगाडि बढाउन प्रतिबद्ध छन् । परराष्ट्र नीति र वाह्य सम्बन्ध जस्ता संवेदनशील विषयमा कुनै समाचार या टिप्पणी प्रस्तुत गर्नु पूर्व पार्टीको आधिकारिक धारणा बुझेर मात्र प्रकाशनरप्रसारण गर्न पार्टी सम्बद्ध सबैलाई आह्वान गर्दछ ।