जागिरे जीवनमा इन्जिनियर आचार्यको आम्दानी पाँच करोड, अख्तियारले छानबिन थाल्यो


काठमाडौं – सडक विभाग अन्तर्गतका इन्जिनियर भरतराज आचार्यले तीन करोड २१ लाख ६२ हजार ४८० रुपैयाँ बराबरको अवैध सम्पत्ति आर्जन गरेको पाइएको छ ।

सडक विभाग अन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्र चाकुपाट ललितपुरमा कार्यरत इन्जिनियर भरतराज आचार्यमाथि उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरेको थियो ।

अनुसन्धानका क्रममा निजले नेपाल सरकारको सरकारी सेवा अन्तर्गत सार्वजनिक निर्माण शाखा रुकुममा सव–ओभरसियर पदमा मिति २०४१/०६/१२ मा अस्थायी नियुक्तिमा सेवा प्रवेश गरी मिति २०४३/०३/२१ मा ओभरसियर पदमा स्थायी नियुक्ति पश्चात् विभिन्न कार्यालयहरुमा कार्यरत रहँदै मिति २०६४/१०/०१ मा इन्जिनियरमा पदोन्नति भएका निज डिभिजन सडक कार्यालय चरिकोट, दोलखा हुँदै हाल सडक विभाग अन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्र ललितपुरमा कार्यरत रहँदा जम्मा रु. दुई करोड सात लाख ७९ हजार ९८६ रुपैयाँ आय आर्जन गरेको देखिएको छ ।

अनुसन्धानमा लिइएको जाँचअवधिमा सम्पत्ति सिर्जना तथा लगानी खर्चमा भरतराज आचार्यले पाँच करोड २९ लाख ४२ हजार ४६६ रुपैयाँ खर्च तथा लगानी गरेको देखिंदा उनको आयको अनुपातमा तीन करोड २१ लाख ६२ हजार ४८० रुपैयाँ बराबरको भागलाई उनको वैध आयस्रोतमा नदेखिएको आयोगको भनाई छ ।

‘सार्वजनिक पद धारण गरेका भरतराज आचार्यले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निज भरतराज आचार्यलाई बिगो रु. ३,२१,६२,४८०।– (तीन करोड एक्काइस लाख बयसठ्ठी हजार चार सय असी रुपैयाँ) कायम गरी साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ बमोजिम र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम सजाय गरी गैरकानुनी रुपमा निज भरतराज आचार्यले आर्जन गरेको स्रोत नखुलेको सम्पत्तिहरु निजले श्रीमती रितादेवी खनाल आचार्यसमेतका नाममा राखेको पाइएकोले उक्त स्रोत नखुलेका सम्पत्तिहरु प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख. बमोजिम जफत गर्ने प्रयोजनार्थ निजको श्रीमती रितादेवी आचार्यसमेतलाई प्रतिवादी कायम गरी आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ,’ आयोगले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement