काठमाण्डु – बेलायतमा बिहीबार सम्पन्न स्थानीय निर्वाचनमा ६ नेपाली निर्वाचित भएका छन् ।
बेलायतका तीन राज्य इंग्ल्याण्ड, स्कटल्याण्ड र वेल्समा बिहीबार स्थानीय निर्वाचन भएको हो ।
१३६ स्थानीय काउन्सिलका ५ हजार १४ सिटका लागि भएको निर्वाचनमा नाइजेल फराज नेतृत्वको दक्षिणपन्थी रिफर्म यूकेले बलियो अग्रता बनाएको छ भने परम्परागत दलहरू लेबर र कन्जरभेटिभले ठूलो धक्का बेहोरेका छन्।
यस निर्वाचनमा विभिन्न दलबाट उम्मेदवारी दिएका दर्जनभन्दा बढी गैरआवासीय नेपालीमध्ये ६ जना विजयी भएका हुन् ।
रेडिङस्थित ब्याटल वार्डबाट प्रतिक्षा गुरुङ लेबर पार्टीको तर्फबाट काउन्सिलरमा निर्वाचित भएकी छन्। यस्तै अल्डरशटको म्यानर पार्क वार्डबाट जीब बेलबासे विजयी भएका छन्। उनी गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका पूर्व प्रवक्ता हुन् ।
त्यसैगरी, भूतपूर्व ब्रिटिश गोर्खा उत्तर गुरुङ अल्डरशटको वेलिङ्टन वार्डबाट लेबर पार्टीको तर्फबाट काउन्सिलरमा निर्वाचित भएका छन्।
लन्डन बरो अफ बार्नेटमा कन्जरभेटिभ पार्टीका लक्षबहादुर गुरुङ पुनः काउन्सिलर पदमा निर्वाचित भएका छन्। उनी यसअघि सोही बरोका उपमेयरसमेत रहिसकेका छन् र एनआरएनए अभियानमा विगत दुई दशकदेखि सक्रिय छन्।
निर्वाचनमा एक नेपाली दम्पती पनि काउन्सिलर पदमा निर्वाचित भएका छन्।
लन्डनस्थित रोयल बरो अफ ग्रीनविचको प्लमस्टेड एन्ड ग्लिन्डन वार्डबाट लेबर पार्टीका तर्फबाट उम्मेदवारी दिएका पूर्व मेयर जीत रानाभाट विजयी भएका छन्। उनकी पत्नी गौमाया गुरुङ पनि सोही बरोअन्तर्गत एबीउड वार्डबाट काउन्सिलरमा निर्वाचित भएकी छन्।




प्रतिक्रिया