कोरीयाली भाषा परिक्षामा ७१ सय कोटा, ७४ हजार प्रतिस्पर्धी


काठमाडौं – रोजगार अनुमति प्रणाली (ईपीएस)को नवौं कोरियन भाषा परीक्षामा ७४ हजार आठ सय ६६ जना विद्यार्थी सहभागी भएका छन्। ईपीएस शाखाका प्रवक्ता शोभाकर भण्डारीले शनिबार र आइतबार गरी चार सिफ्टमा परीक्षा सञ्चालन गरिएको जानकारी दिए।

नवौं भाषा परीक्षा काठमाडौं र पोखरामा सञ्चालन भएको थियो। भाषा परीक्षाका लागि शाखाले गत चैत ८ देखि १८ गतेसम्म अनलाइन आवेदन लिएको थियो। परीक्षाका लागि अनलाइन आवेदन दिनेको संख्या ८२ हजार दुई सय ६४ थियो।

आवेदन फारम भरेका मध्ये सात हजार तीन सय ९८ जना परीक्षामा सहभागी नभएको भण्डारीले जानकारी दिए। नेपाल र कोरियाबीच सन् २००७ मा दुई पक्षीय श्रम सम्झौता भएको थियो। सम्झौतापछि अहिलेसम्म कोरियन भाषा परीक्षामा पाँच लाखभन्दा बढी सहभागी भइसकेका छन्। आठौं भाषा परीक्षामा पनि ७० हजारभन्दा बढी सहभागी भएका थिए।

सम्झौता भएको एक वर्षपछि सन् २००८ देखि नेपाल सरकारले आफै कामदार पठाउँदै आएको छ। १० वर्षको अवधिका नेपालबाट रोजगारीमा ५४ हजारभन्दा बढी युवा कोरिया गइसकेका छन्। लागत कम हुने र आम्दानी राम्रै हुने भएका कारण शिक्षित युवाको छनोट कोरिया परेको छ।

परीक्षाका लागि अनलाइन आवेदन दिनेको संख्या ८२ हजार दुई सय ६४ थियो त्यसमध्ये सात हजार तीन सय ९८ अनुपस्थित रहे।

७१ सयको कोटा

सन् २०१९ मा कोरियाको रोजगारीमा ७१ सय युवा जान पाउनेछन्। यसमा कृषि काममा लागि ४८ सय र उत्पादनमूलक क्षेत्रका लागि २३ जनाको कोटा तय भएको छ। भाषा परीक्षामा उत्तीर्ण भएका सबैले कोरिया जान पाउने निश्चित नभएको भण्डारी बताउँछन्। नवौ भाषा परीक्षामा सहभागी भइ उत्तीर्ण भएका परीक्षार्थीले सबै प्रक्रिया पूरा गरी सन् २०१९ को जनवरीदेखि कोरिया जाने पाउने उनको भनाइ छ। आजको अन्नपुर्ण पोष्टमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement