ईपीएस कोरियाका लागि आवेदन फाराम भर्ने म्याद २ दिन थप (सूचनासहित)


काठमाण्डु – ईपीएस कोरियाको परीक्षाका लागि आवेदन फाराम भर्ने म्याद २ दिन थप गरिएको छ ।

वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले आवेदन फाराम भर्ने म्याद पुस २० गतेसम्मका लागि थप गरेको छ ।

कोरियामा पानीजहाज निर्माण क्षेत्रका लागि आवेदन दिएकाहरूलाई उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिन म्याद थप गरिएको छ ।

यसअघि आवेदन दिने समय पुस १६ गतेदेखि १८ गतेसम्मका लागि तोकिएको थियो । वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै २ दिन म्याद थप गरिएको वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेले जानकारी दिए ।

विभागको महानिर्देशकको निर्णय अनुसार म्याद थप गरिएको छ । आवेदन आह्वान गरिएको पहिलो दिन पुस १६ गते प्राविधिक कारणले अनलाइनमा समस्या आएको थियो । मानवीय समवेदनालाई समेत मध्यनजर गर्दै २ दिन म्याद थप गर्ने निर्णय गरिएको महानिर्देशक घिमिरेले जानकारी दिए ।

आवेदन फाराम भर्न पाउनुपर्ने माग राख्दै पानीजहाज निर्माण क्षेत्रका युवाहरूले आन्दोलन गरेका थिए । आन्दोलनको क्रममा पुस १३ गते ललितपुरको बालकुमारीमा २ जनाको मृत्यु भएपछि सरकारको आलोचना भइरहेको छ ।

त्यसैदिन उच्च अदालत पाटनले इच्छुक सबैलाई आवेदन फाराम भर्न दिन आदेश दिइसकेको छ । यसअघि सन् २०२३ मा एउटा क्षेत्रमा आवेदन फाराम भरेकाहरूलाई अर्कोमा भर्न नपाउने भन्दै उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिन रोक लगाइएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement