मिडियामाथि हमला गर्दा ‘इसेवा’लाई धक्का, प्रयोगकर्ताले चलाए ‘डिएक्टिभेट’ अभियान

मिडियामाथि हमला गर्दा ‘इसेवा’लाई धक्का, प्रयोगकर्ताले चलाए ‘डिएक्टिभेट’ अभियान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – विद्युतीय भुक्तानी सेवाप्रदायक ‘इसेवा’ प्रति ग्राहकहरुले असन्तुष्टी व्यक्त गरेका छन् । ग्राहकहरुले इसेवामाथि प्रश्न उठाउँदै इसेवा अभियान सञ्चालन गरेका हुन् ।

प्रधानमन्त्रीका आईटी विशेषज्ञ अस्गर अलिको समूहले काठमाडौंबाट सञ्चालित अनलाइन काठमाडौंप्रेसमा प्रकाशित समाचार ह्याक गरेर पेजबाट हटाएको आरोप लागेपछि इसेवा ‘डिएक्टिभेट’ अभियान चालिएको हो । इसेवाका मालिकसमेत रहेका अस्गरको समूहले अनधिकृत काम गरेको आरोप लागेपछि ग्राहकहरुले प्रश्न उठाउँदै सामाजिक सञ्जालमा इसेवा बहिस्कारको अभियान चलाएका छन् ।

आफ्नो विरुद्ध समाचार सार्वजनिक भएपछि अलीको समूहले ‘काठमाडौँ प्रेस’ नामक समाचार पोर्टल ह्याक गर्दै समाचार नै डिलिट गरापछि इसेवाका ग्राहकहरुले विभिन्न टिकाटिप्पणी सुरु गरेका छन् ।

काठमाडौं प्रेस अनलाइनले प्रधानमन्त्रीका आइटी विज्ञ अली, उपप्रधानमन्त्री ईश्वर पोखरेलका छोरा स्वराज र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालका छोरा क्षितिज चीनबाट कोरोना भाइरसविरुद्ध आवश्यक सामान खरिदको अनियमिततामा सामेल रहेको समाचार प्रकाशित गरेको थियो ।

उक्त समाचार हटाउन पटक–पटक दबाब आएको तर नहटाएपछि सिस्टमभित्रै घुसेर समाचार हटाइदिएको काठमाडौं प्रेसका प्रबन्ध सम्पादक गोविन्द परियारले बताएका छन् ।

इसेवा र सिरान टेक कम्पनी एउटै सञ्चालकले चलाएका कम्पनी हुन् । त्यसमध्ये इसेवाले विद्युतीय भुक्तानी र सिरान टेकले वेभसाइटको डिजाइन तथा डेभलपमेण्टको काम गर्छ । काठमाडौँ प्रेसको वेभसाइटको डिजाइन तथा डेभलपमेण्ट पनि सिरान टेकलेले गरेको छ ।

यसरी आफूलाई समाचारमा चित्त नबुझेपछि आफैंले डिजाइन गरेको वेवसाईटभित्र अनाधिकृतरुपमा छिरेर समाचार डिलिट गरेपछि यसका प्रयोगकर्ताले आशंका व्यक्त गरेका छन् ।

पत्रकार गजेन्द्र बुढाथोकीले १० वर्षदेखि सेवा दिँदै आएको इसेवा सञ्चालकहरूले गरेको गलत कार्यको परिणाम नराम्रो हुने चेतावनी दिए । ‘ब्रान्ड बनाउन १० वर्ष लाग्छ, बिग्रन १० मिनेट । ईसेवावाले आज एक मिडियाको सिप्यानलमा अनाधिकृत प्रवेश गरेको परिणाम छिटै देखिनेछ’, बुढाथोकीले ट्वीटरमा भनेका छन् ।

त्यस्तै निरज नामका ट्वीटर प्रयोगकर्ताले इसेवाले मानिसको पैसा चोर्ने आशंका व्यक्त गर्छन् । उनले भनेका छन्, ‘इसेवाले नेपालका बैंकहरूको अनलाइन कारोबार हेर हेर्छ । इसेवासँग अहिले नै लाखौँ मानिसको व्यक्तिगत विवरण छ,’ ‘यस्तो अवस्था रहने हो भने इसेवाले मानिसको बैंक खाताबाट पैसासमेत चोर्न सक्छ ।’

त्यस्तै पूर्वधानमन्त्री डा. बाबुराम भट्टराईले मिडियामाथि दमन गरेको भन्दै आपत्ति प्रकट गरेका छन् । फेक न्यूज भए कानुनी उपचार खोज्नुपर्ने बेलामा अनाधिकृत रुपमा हमला गर्नु स्वीकार्य नहुने चतोवनी दिएका छन् । ‘कणहरूको पखेटा लागेकै हो ? कुनैपनि बहानामा मिडियामाथि दमन भनेको ज्वालामुखीलाई स्याउलाले छोप्न खोज्नु जस्तै हो । फेक न्यूज(तथ्यहीन खबर)भए अथेन्टिक न्यूज(तथ्यपूर्ण खबर)ले प्रतिवाद गर्ने हो।त्यो नभए कानुनी उपचार खोज्ने हो । महामारीसंग निरंकुश तरिकाले हैन झन् लोकतान्त्रिक तरिकाले लड्ने हो ’, उनले भनेका छन् ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले इसेवा अनइन्स्टल गरेको फोटो प्रकाशित गरेका छन् । यो सँगै इसेवामाथि ठूलै धक्का लाग्ने संकेत देखिएको छ ।

यसैबीच सामाजिक सञ्जालमा इसेवा सञ्चालक तथा इसेवाको चर्को आलोचना हुन थालेपछि इसेवाले ग्राहक जोगाउन हतार हतार ‘रिफर एण्ड अर्न’ अफर ल्याएको छ ।