इस्लामिक स्टेट :चरमपन्थी समूह आईएसको उदय र पतनको कथा

इस्लामिक स्टेट :चरमपन्थी समूह आईएसको उदय र पतनको कथा


काठमाडौं – संयुक्त राज्य अमेरिकाले समर्थन गरेको सिरियाली लडाकुहरूको एउटा गठबन्धनले अमेरिका र उसका साझेदारहरूले सिरियामा इस्लामिक स्टेटको नियन्त्रणमा रहेको अन्तिम भूभागमाथि कब्जा जमाएको घोषणा गरेको छ। खासमा उनीहरूको हुन् र उनीहरूको प्रभाव कसरी फैलियोरु सिरिया र इराकको ठूलो भूभागमाथि कब्जा जमाएपछि सन् २०१४ मा यो चरमपन्थी इस्लामवादी समूह अन्तर्राष्ट्रिय चर्चामा आयो।

आईएसले आफ्नो बर्बर शासन झन्डै ८० लाख मानिसमाथि लाद्यो, अनेकौँ हत्या गर्‍यो, सांस्कृतिक धरोहरहरू नष्ट पार्‍यो र तेल बिक्री, चन्दा असुली, लुटपाट एवम् फिरौतीबापत अर्बौँ डलर आर्जन गर्‍यो।

पाँच वर्षदेखि भएको भीषण एवम् रक्तपातपूर्ण लडाइँपछि एक ताका आफूले नियन्त्रण कायम गरेको सबै भूभागबाट आईएस धपाइएको छ। तर सो समूह कुनै अर्थमा पराजित भएको छैन। विज्ञहरू भन्छन् -त्यो समूह फेरि फर्किन सक्छ र विश्वका लागि अझै खतरा नै छ।

आईएस के चाहन्छ?

जिहादीहरू पृथ्वीमा ईश्वरको शासन पुनर्स्थापित गर्न र मुस्लिम समुदायलाई उनीहरूले ठान्ने काफिर तथा नास्तिकबाट जोगाउनका निम्ति हिंसात्मक सङ्घर्षलाई आवश्यक ठान्छन्। आईएस केलिफेटु अर्थात् शरियाबमोजिम ईश्वरका प्रतिनिधिबाट शासित राज्य चाहन्छ। इस्लामिक ग्रन्थमा उल्लेखित कुराको कट्टर व्याख्या गर्दै सो समूहले मुस्लिम र गैरमुस्लिमहरूमाथिको आक्रमणलाई जायज ठहर्‍याउँदै आएको छ।
यसका मूल स्रोत के हुन्

अमेरिकी नेतृत्वमा सन् २००३ मा इराकमा गरिएको अतिक्रमणपछि सुन्नी मुस्लिमहरूले बनाएको अल-कायदाबाट आईएस बनेको हो। सन् २०११ ताका इस्लामिक स्टेट इन इराक आईएसआई नामले परिचित उक्त समूह सिरियामा राष्ट्रपति बशर अल असादविरुद्धको विद्रोहमा सामेल भयो। त्यहाँ उसले आफ्नो सुरक्षा स्थान बनायो।

उसले इराकबाट अमेरिकी फौजको फिर्ती तथा शिया नेतृत्वको इराकी सरकारको साम्प्रदायिक नीतिप्रति सुन्नीहरूको आक्रोशको फाइदा पनि उठायो। सन् २०१३ मा आईएसआईले सिरियाली भूभागमाथि कब्जा जमाउन थाल्यो र आफ्नो नाम परिवर्तन गरी इस्लामिक स्टेट इन इराक एन्ड द लेभान्ट अर्थात् आईसिसरआईसिल राख्यो।

अर्को वर्ष उसले इराकको ठूलो भूभागमा नियन्त्रण कायम गर्‍यो र आफ्ना नेता अबु बकर अल-बगदादीलाई ईश्वरका प्रतिनिधि घोषणा गर्दै इस्लामिक स्टेटको रूपमा परिचित भयो।
कति भूभागमाथि उसले नियन्त्रण गर्‍यो ?

आफ्नो पकडको उत्कर्षमा आईएसले इराकदेखि सिरियासम्मको करिब ८८ हजार वर्गकिलोमिटर क्षेत्रमा शासन गर्‍यो। करिब ८० लाख मानिसहरूले शरियाको व्याख्याबमोजिम जीवन गुजारा गरे। आईएस विद्रोहीको अन्तिम किल्ला स्थलको विशेष भिडिओ

महिलालाई पूरै जीउ ढाक्ने नकाब लगाउन बाध्य पारियो, दिनहुँजसो सार्वजनिक रूपमा मान्छेको टाउको छिनाइन्थ्यो, बालबालिकालाई विद्यालयमा निर्देशित गरिन्थ्यो र इसाईहरूले कर तिर्ने, धर्म परिवर्तन गर्ने अथवा मृत्युवरण गर्नेमध्ये एउटा विकल्प रोज्नुपर्थ्यो।

प्रभावशाली मुस्लिम नेताहरूले आईएसको केलिफेटलाई अस्वीकार गरे। तर दशौँ हजार विदेशीहरू सो समूहमा सामेल हुन पुगे। प्रत्येक महिना तेल तस्करी, चन्दा असुली, लुटपाट र फिरौती बापत आईएसले दशौँ लाख डलर आर्जन गर्थ्यो। प्राचीन स्थलहरू र मूर्तिहरू नष्ट गरेर पनि सो समूहले व्यापक आक्रोश निम्त्यायो।

कसरी आफ्नो नियन्त्रण गुमायो ?

आईएसलाई परास्त गर्ने लडाइँमा कैयौँ हजार मानिसको ज्यान गएको छ। इराकमा स्थानीय सुरक्षा फौजको नेतृत्वमा कुर्दिश पेशमर्गा लडाकु र इरान समर्थित शिया लडाकुहरूको अर्धसैनिक फौज सहभागी भए। चौहत्तर देश सहभागी अमेरिकी नेतृत्वको गठबन्धन फौजले हवाई आक्रमण गरेर र सैन्य सुझाव दिएर सघाएको छ।

सिरियामा राष्ट्रपति असादप्रति बफादार फौजले पश्चिमी क्षेत्रमा र रुसी हवाई आक्रमण तथा इरान समर्थित लडाकुको सहयोगमा मध्य क्षेत्रमा आईएससँग लडेका छन्। अन्तर्राष्ट्रिय गठबन्धनले चाहिँ कुर्दिश र अरब लडाकुहरूको गठबन्धन सिरियन डेमोक्र्याटिक फोर्सेजलाई समर्थन गरेको छ।

के यो आईएसको अन्त्य हो ?

यो लडाइँबाट खारिएको र एकदम अनुशासित फौज हो जसको सधैँका लागि पराजय भएको सुनिश्चित गर्न सकिँदैन। इराकमा सो समूह एउटा गोप्य सञ्जालको रूपमा देखिसकिएको छ। संयुक्त राष्ट्रसङ्घका अनुसार लामो समयदेखि निष्क्रिय रहेका गोप्य एजेन्टहरू ग्रामीण क्षेत्रमा सरकारी निकायलाई कमजोर बनाउन थालेको, कानुनविहीनताको अवस्था सिर्जना गर्न थालेको र मेलमिलापमा अवरोध पुर्‍याउन थालेको जनाएको छ।

आईएसले ठूलो क्षति बेहोरेको छ। तर राष्ट्रसङ्घले भनेको छ, इराक र सिरियामा अझै उसका १४ हजारदेखि १८ हजार लडाकु छन्। अफगानिस्तान, इजिप्ट, लिबिया, दक्षिण-पूर्वी एशिया र वेस्ट अफ्रिका अनि केही हदसम्म सोमालिया, यमन र द साहेलमा ठूलै सङ्ख्यामा आईएससँग आबद्ध लडाकु समूहहरू छन्। त्यसबाहेक आईएसको दर्शनबाट प्रेरित भई व्यक्तिगत रूपमा अन्यत्र आक्रमण गर्ने क्रम पनि जारी नै छ। बीबीसी नेपाली