काठमाण्डु – युरोपेली संघ (ईयू) का विदेश नीति प्रमुख जोसेप बोरेलले सोमबार लेबनानमा तत्काल युद्धविरामको लागि पुनः आह्वान गर्दै हिजबुल्लाह विरुद्धको युद्धमा इजरायलको अस्वीकार्य आक्रमणको निन्दा गरेका छन् ।
इरान समर्थित मिलिसिया विरुद्धको आक्रमणले मध्यपूर्वमा बढ्दो द्वन्द्वमा संयुक्त राष्ट्रसंघको युनिफिल शान्ति सेना मिसनलाई अगाडि ल्याएको छ ।
सन् १९७८ देखि दक्षिणी लेबनानमा तैनाथ युनिफिलले सेप्टेम्बरको अन्त्यमा इजरायलले आफ्नो स्थल आक्रमण सुरु गरेदेखि धेरै घाइते भएको र आफ्ना सुविधाहरूमा क्षति भएको जनाएको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हिजबुल्लाहले युनिफिल शान्ति सेनालाई मानव ढालका रूपमा प्रयोग गरिरहेको बताउँदै शान्ति सेनालाई फिर्ता हुन आह्वान गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
ईयूका विदेश नीति प्रमुख बोरेलले बार्सिलोनामा आयोजित एक मञ्चमा भने, ‘ईयूले युनिफिल निगरानी र सम्बन्धित संयुक्त राष्ट्र सुरक्षा परिषद्का प्रस्तावहरूको सम्मान गर्दै नीलो रेखामा तत्काल युद्धविरामको आह्वान गरेको छ ।’
सन् २००६ को इजरायल–हिजबुल्लाह युद्धपछि सोही वर्ष सहमत भएको सुरक्षा परिषद्को प्रस्तावअनुसार दक्षिणी लेबनानमा संयुक्त राष्ट्रसंघका शान्ति सैनिक र लेबनानी सेना मात्र तैनाथ हुनुपर्ने थियो ।
बोरेलले युनिफिलका संरचना र कर्मचारीहरूविरुद्ध इजरायली सेनाको अस्वीकार्य आक्रमणको निन्दा समेत गरेका छन् ।
गाजाको मानवीय संकट दोस्रो विश्वयुद्धपछिको सबैभन्दा खराब भएको संयुक्त राष्ट्रसंघको चेतावनीलाई उल्लेख गर्दै बोरेलले भूमध्य क्षेत्रका नेताहरू भेला भएको मञ्चले केवल चिन्ता व्यक्त गर्नुभन्दा बढी गर्नुपर्ने बताए ।
‘जसरी यो युद्धमा नागरिकहरूविरुद्ध कारवाही भइरहेको छ, त्यसले गम्भीर चिन्ता उत्पन्न भएको छ र धेरै अनुत्तरित प्रश्नहरू छोडेको छ,’ उनले भने ।
गत वर्ष ७ अक्टोबरमा हमासको इजरायल विरुद्धको अभूतपूर्व आक्रमणले गाजा युद्ध शुरु भयो । यसबाट लेबनान–इजरायल सीमामा शत्रुता बढायो र इजरायल र इरानबीच पहिलो प्रत्यक्ष आक्रमणहरू भएका छन् ।




प्रतिक्रिया