यूरोप भित्रिने नेपालीको रोजाईमा स्पेन


स्पेन – नेपालसँग मिल्दो हावापानी र लचिलो कानूनी व्यवस्था भएकाले स्पेन भित्रिने नेपालीहरुको संख्या हरेक वर्ष बढ्दो छ । आसपासका यूरोपेली मुलुकको तुलनामा तलब भत्ता तथा कागजात बनाउन सजिलो भएपछि स्पेन नेपालीको रोजाईमा पर्न थालेको हो ।

बेलायत, ग्रिस, पोल्यान्ड, माल्टा, टर्की लगायतका मुलुकबाट यहाँ भित्रिने नेपालीको सख्या हरेक वर्ष बढिरहेको म्याड्रिडस्थित नेपाली दूतावासले जनाएको छ । ‘यूरोपका अधिकांश देशबाट यहाँ आउने नेपालीको संख्या बढिरहेको छ, स्पेनस्थित नेपाली दूतावासका कार्यवहाक राजदूत हरिहरकान्त पौडेलले बताउनुभयो । उहांले भन्नुभयो–‘हामीसँग आधिकारिक तथ्यांक यकिन नभएपनि हरेक वर्ष यहाँ आउने नेपालीको संख्या बढिरहेको खवर नेपाली कम्युनिटीबाट बुझिरहेका छौ ।’

स्टुडेन्ट भिषामा यूरोप पुग्ने नेपालीहरु रोजगार र बसोबासका लागि सहज वातावरण खोज्दै स्पेन भित्रिने गरेका उहाँको बुझाई रहेको छ । बेलायतमा एक दिन पनि ‘ओभर स्टे’ गर्न नपाइने भएकाले त्यहाँबाट पनि स्पेन भित्रिने नेपालीको संख्या बढिरहेको पौडेलले बताउनुभयो । सोही प्रावधानका कारण सन् २०१०पछि बेलायतबाट स्पेन भित्रिने नेपालीको संख्या निकै बढेको उहाँको ठहर छ । स्पेन भित्रिने जो कोहीले बसोबासका लागि ‘इम्पाद्रोनामिएन्तो’को प्रकृयामा सामेल हुन सक्छन् । इम्पाद्रोनामिएन्तो बसोबासका लागि स्थानीय नगरपालिकामा दिइने आवेदन प्रकृया हो ।

आवेदकले निवेदन दिएको ३ वर्षपछि बसोबास अनुमतिपत्र प्राप्त हुन्छ । त्यसपछि रोजगारका लागि आवेदन दिन सजिलो हुने र कमाई धेरथोर बचत पनि हुने बताउँदै म्याड्रिडको एक रेष्टुरेन्टमा कार्यरत एक नेपालीले भने–‘शुरुको ३ वर्ष विना कमाईको दुःखी जिन्दगी हो, ३ वर्षपछि भने केही सजिलो हुन्छ ।’

आप्रवासी नेपाली मञ्च स्पेनका अनुसार स्पेन आएकै दिनमा जो कोही इम्पाद्रोनामिएन्तोको प्रकृयामा जान सक्छन् । मञ्चका निवर्तमान अध्यक्ष शिवहरि सिग्देलका अनुसार इम्पाद्रोनामिएन्तोका लागि कुनै शुल्क नलाग्ने भएकाले स्पेन छिर्ने जो कोहीले आवेदन दिन सक्छन् । यस्तो अनुमति पत्र प्राप्तीका लागि स्थानीय नगरपालिकामा आवेदन दिनु पर्ने प्रावधान अनिवार्य छ तर सोही प्रावधान नेपाली दूतावासका लागि भने अनिवार्य छैन । यो समाचार आजको समाचारपत्रमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement