काठमाण्डु – बेलायतका चारजना पूर्वसैनिकहरूले ५ दिनमै सगरमाथाको सफल आरोहण गरेर ऐतिहासिक सफलता हात पारेका छन् ।
पूर्व बेलायती विशेष फौजका सैनिकहरूले सगरमाथामा नयाँ र आश्चर्यजनक कीर्तिमान राखेका छन् । उनीहरूले परम्परागत उचाइ अभ्यस्त प्रक्रिया नगरी पाँच दिनभित्रै सगरमाथाको चुचुरो चुमेका छन् ।
परम्परागत रूपमा, सगरमाथा आरोहणमा एक महिनाभन्दा बढी समय लाग्छ । आरोहीहरूले अप्रिलको सुरुतिर यात्रा सुरु गर्छन् र आधार शिविर र माथिल्लो शिविरहरूबीच पटक–पटक घुमेर शरीरलाई उचाइमा अभ्यस्त बनाउँछन् । यो प्रक्रिया अत्यन्त आवश्यक मानिन्छ, र यसलाई बेवास्ता गर्नु जोखिमपूर्ण ठानिन्छ ।
तर, बेलायती टोलीले पाँच दिनमै सम्पूर्ण आरोहण सम्पन्न गरेको छ। अघिल्ला दशकहरूमा अकल्पनीय ठानिएको यो कार्य अहिले वास्तविकता बनेको छ ।
पृथ्वीको सर्वोच्च शिखरको यो तीव्र आरोहणले नेपाली अधिकारीहरूको ध्यान तानेको छ—तर आरोहणका लागि नभई उनीहरूले नेपाल आउनु अघि युरोपमा प्रयोग गरेको जेनन ग्यासको विवादास्पद प्रयोगका कारण ।
केही महिनाको तालिम, हाइपोक्सिक चेम्बर सेसन र जेनन ग्यासको प्रयोगको माध्यमबाट उनीहरूले सगरमाथाको आरोहण गरेका हुन् ।
फुर्टेनबाख एड्भेन्चर्सका सञ्चालक लुकास फुर्टेनबाखले ती चारजना पूर्वसैनिकहरू मेजर गार्थ मिलर, कर्नेल एलिस्टेयर स्कट कान्र्स, एन्थोनी जेम्स स्टाजिकर र केभिन फ्रान्सिस गडलिङटन छन् ।
उनीहरू बुधबार नेपाली समयअनुसार बिहान ७ः१५ बजे सगरमाथाको शिखरमा पाइला टेकेका हुन् ।
लुकासले भने, ‘हाम्रा आरोहीहरू आफ्नो लक्ष्यअनुसार लन्डनदेखि संसारको सर्वोच्च शिखरसम्मको सबैभन्दा छिटो आरोहण र पुनः फर्कने अभियान पूरा गर्न लागिपरेका छौं ।’
यो टोली मे १६ मा काठमाण्डु उत्रेको थियो र सात दिनमै सगरमाथा अभियान सुरु गरेको थियो । उनीहरू मे १७ मा सगरमाथा आधारशिविर पुगेका थिए भने मे २०मा शिखरतर्फको अन्तिम आरोहण सुरु गरेका थिए ।
उनीहरूसँगै यात्रा गरेका थिए फोटोग्राफर अलेक्जान्डर ग्रोमेन हेज र अनुभवी शेर्पा गाइडहरू पनि सँगै सगरमाथा चढेका थिए ।
अभियानको नेतृत्व गरेका गार्थ मिलर एक अनुभवी आरोही हुन्, । उनलेसगरमाथा, के–टू, र अन्य ८,००० मिटरभन्दा अग्ला हिमालहरूमा अनुभव सँगालेका छन् । मिलरले यसअघि पनि लन्डनदेखि सगरमाथासम्मको सबैभन्दा छिटो आरोहण (२१ दिन) को रेकर्ड बनाएका थिए ।
लुकासका अनुसार टोलीले प्रस्थानपूर्व आफ्नै घरमै हाइपोक्सिक टेन्ट प्रयोग गरेर शरीरलाई उचाइका लागि तयार बनाएका थिए । साथै उनीहरूले जर्मनीको एक क्लिनिकमा जेनन ग्यास उपचार पनि लिएका थिए । अहिले टोली आधारशिविरतर्फ ओर्लँदै छ र मौसमले साथ दिएमा बिहीबार नै काठमाण्डुबाट लन्डन फर्कने योजना रहेको छ ।
उनीहरूको अभियानलाई पछिल्ला वर्षहरूमा सगरमाथामा गरिएको सबैभन्दा साहसी प्रयासको रूपमा व्यापक प्रशंसा गरिएको छ । यद्यपि ८,००० मिटर माथिका हिमालहरूमा जेनन ग्यास र हाइपोक्सिक चेम्बरको प्रयोगलाई लिएर आरोहण समुदायमा मतभेद देखिएको छ ।
बेलायतमा रहँदा उनीहरूले ‘हाइपोक्सिक टेन्ट’ मा अभ्यास गरेका थिए र कडा उचाइ–उपयुक्त प्रशिक्षण लिएका थिए । तर अहिले विवादको मुख्य विषय भनेको उनीहरूले नेपाल आउनुभन्दा दुई हप्ता अघि युरोपमा जेनन ग्यासबाट सास फेरेको विषय रहेको छ । उचाइजन्य रोगको जोखिम घटाउन यो ग्यास प्रयोग गरिएको भनिएको छ ।
यस आलोचनालाई लुकासले खारेज गर्दै भने, ‘जेनन उपचार अभियान सुरु हुनु केही हप्ता अगाडि जर्मनीको क्लिनिकमा दिइएको हो, न सगरमाथा चढ्दाका बेला ।’
जेननले शरीरलाई उचाइसँग अनुकूल बनाउँछ, उचाइ रोगबाट बचाउँछ र कम अक्सिजन भएको वातावरणको असर घटाउँछ । यसले आरोहणलाई सुरक्षित र छोटो बनाउँछ, जसले पर्वतारोहण अझ सुरक्षित बनाउँछ ।
लुकासले थपे, ‘छोटो अभियानको अर्थ हो कम फोहर, कम स्रोतसाधनको खपत र वातावरणमैत्री मानवीय प्रभाव । साथै, यसले स्थानीय कामदारहरूलाई उचित पारिश्रमिक र रोजगारी पनि सुनिश्चित गर्छ ।’
उनीहरूको तीव्र सफलता विश्व पर्वतारोहण समुदायमा चासोको विषय बने पनि नेपालमा यसले सुरक्षा, नैतिकता र हिमाली पर्वतारोहणको भविष्यबारे गम्भीर बहस निम्त्याएको छ ।
जेनन ग्यासको प्रयोगले स्थिति झनै जटिल बनाएको छ ।
२०१४ मा वर्ल्ड एन्टि–डोपिङ एजेन्सीले खेलाडीहरूका लागि जेनन ग्यास प्रतिबन्ध लगाएको थियो । किनभने यसले शरीरमा इरिथ्रोपोइटिन नामक हर्मोन उत्पादनलाई प्रेरित गरेर प्रदर्शनमा सुधार ल्याउन सक्ने सम्भावना देखिएको थियो । तर पर्वतारोहणमा वर्ल्ड एन्टि–डोपिङ एजेन्सीको अधिकार क्षेत्रभित्र पर्दैन । यसमा प्रतिस्पर्धात्मक नहुने भएका कारण आरोहणमा यसको प्रयोगमा कुनै प्रतिबन्ध छैन ।
सगरमाथाको ८,००० मिटर माथिको ‘डेथ जोन’ पृथ्वीको सबैभन्दा कठोर वातावरणमध्ये एक हो । त्यहाँ अक्सिजन अत्यन्त कम हुन्छ ।
प्रतिक्रिया