एभरेष्ट भलिबल लिग रोकिएकै अवस्थाबाट पुनः सुरु हुने

एभरेष्ट भलिबल लिग रोकिएकै अवस्थाबाट पुनः सुरु हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – एभरेष्ट महिला भलिबल लिग रोकिएकै अवस्थाबाट फेरि सुरु हुने भएको छ। आयोजक इन्फिनिटी ड्रिम्सले प्रतियोगिता सुचारु हुने मिति चाँडै घोषणा गरिने जनाएको छ ।

लिग चरणका १६ मध्ये नौ खेल सम्पन्न भइसकेको र बाँकी सात खेलको मिति नेपाल भलिबल संघ, फ्रेन्चाइज टिम र प्रायोजकलगायत सरोकारवालासँगको सहमतिपछि घोषणा गरिने आयोजकले जनाएको छ।

इन्फिनिटी ड्रिम्स प्रालिकी सीईओ स्नेभी चापागाईंले प्रतियोगितामा सहभागी हुन आएका स्वदेशी खेलाडी, प्रशिक्षक, व्यवस्थापक र प्राविधिक टोलीलाई सुरक्षित रूपमा घर पठाइसकिएको जानकारी दिइन्।

पोखराको बहुउद्देशीय कभर्डहलमा भएको प्रतियोगितामा पहिलो संस्करणको विजेता कर्णाली यशविससहित ललितपुर क्विन्स, मधेस युनाइटेड, काठमाडौं स्पाइकर्स, लुम्बिनी लाभाज र पोखरा निन्जाजले प्रतिस्पर्धा गरेका थिए। यस पटक पहिलो संस्करण खेलेको गण्डकी थन्डर्सको स्थानमा पोखरा निन्जाज र चितवन शक्तिको स्थानमा लुम्बिनी लाभाज भित्रिएका थिए।

तीन खेलमा नौ अंक जोडेको ललितपुर क्विन्स अंक तालिकाको शीर्ष स्थानमा छ। नौ अंक नै जोडेको साविक विजेता कर्णाली यशविस दोस्रो स्थानमा छ। यस्तै तीन अंक जोडेको मधेस युनाइटेड तेस्रो, तीन अंक नै बनाएको काठमाडौं स्पाइकर्स चौथो, दुई अंक जोडेको लुमिबनी लाभाज पाँचौं र एक अंक जोडेको पोखरा निन्जाज छैटौं स्थानमा छन्।

लिगको दोस्रो संस्करणमा सहभागी हुन १० देशका १८ खेलाडी नेपाल आएका थिए। जसमा एसियाली राष्ट्र थाइल्याण्डदेखि नेदरल्यान्ड्स, रुस, क्रोएसिया, ग्रिस, रोमानिया, बुल्गेरिया, अमेरिका र ब्राजिलका खेलाडी छन्। लिगमा सहभागी ६ फ्रेन्चाइज टोलीले तीन विदेशी खेलाडी राख्न पाउने प्रावधान अनुसार विदेशी खेलाडी अनुबन्ध गरेका थिए। ६ वटै फ्रेन्चाइज टोलीले कोटा अनुसार तीन विदेशी खेलाडी अनुबन्ध गरेका थिए।

यस पटक थाइल्यान्डबाट सबैभन्दा धेरै पाँच खेलाडी नेपाल आएका थिए। यस्तै नेदरल्यान्ड्सबाट तीन, रुस र ब्राजिलबाट दुई÷दुई, अमेरिका, किर्गिस्तान, क्रोएसिया, ग्रिस, रोमानिया र बुल्गेरियाबाट एक÷एक खेलाडी अनुबन्ध गरिएको थियो।

पहिलो संस्करणमा छिमेकी राष्ट्र भारतका खेलाडी आए पनि दोस्रो संस्करणमा भने भारतका कोही पनि खेलाडीलाई फ्रेन्चाइज टोलीले ल्याएनन्।