पूर्वछापामार अधिकारी सहायक रथीमा बढुवा

पूर्वछापामार अधिकारी सहायक रथीमा बढुवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारले तत्कालीन माओवादी जनमुक्ति सेनाबाट नेपाली सेनामा समायोजन भई महासेनानी (कर्णेल) पदमा कार्यरत यमबहादुर अधिकारीलाई सहायक रथीमा बढुवा गरेको छ । अधिकारीलाई तत्कालीन जनमुक्ति सेनाबाट नेपाली सेनामा समायोजन भएकामध्ये सबभन्दा माथिल्लो दर्जामा पुग्ने सौभाग्य मिलेको हो ।

मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले जंगी अड्डाको सिफारिसमा अधिकारीलाई सहायक रथीमा बढुवा गरेको हो । सरकारका प्रवक्ता सञ्चारमन्त्री गोकुल बाँस्कोटाले नेपाली सेनामा विशेष पद सिर्जना गरेर अधिकारीलाई सहायक रथीमा पदोन्नति गरिएको जानकारी दिए ।

अधिकारीको सहायक रथीको चारवर्षे पदावधि सकिएपछि विशेष पद स्वतः खारेज हुने जानकारी जंगी अडडा स्रोतले दिएको छ । अधिकारीले सहायक रथी बन्न चाहिने ‘हाइयर कमान्ड कोर्स’ पूरा नगरेका कारण विशेष पद सिर्जना गरेर बढुवा गरिएकोसमेत स्रोतले उल्लेख गरेको छ ।

तत्कालीन विद्रोही माओवादी शान्ति प्रक्रियामा आएपछि भएको सेना समायोजनका क्रममा उनी नेपाली सेनामा उपसेनानीका रूपमा प्रवेश गरेका थिए । याे समाचार कान्तिपुर दैनिकमा छ ।