काठमाण्डु – राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको शैक्षिक सत्रको अन्त्य जेठमा जेठमा गर्न शिक्षा मन्त्रालयलाई प्रस्ताव गरेको छ ।
यसअघि चैतमै शैक्षिक सत्रको अन्त्य गरिँदै आइएपनि यो वर्ष भने कोरोना महामारीका कारण विद्यालय बन्द भएको र अरू शैक्षिक गतिविधि हुन नपाउँदा जेठको अन्तिमसम्ममा शैक्षिक सत्र अन्त्यको प्रस्ताव गरिएको हो ।
जेठमा शैक्षिक सत्र अन्त्यको प्रस्ताव शिक्षा मन्त्रालयमा पठाइएको बोर्डका अध्यक्ष डाक्टर चन्द्रमणि पौडेलले जानकारी दिए ।
धेरै ठाउँमा पढाइ सुरु भइसकेको र अब बिदा कटौती गर्ने र पूर्ण क्षमता तथा समयमा विद्यालय चलाएर कोर्स सक्ने र जेठमा शैक्षिक सत्र अन्त्य गर्ने प्रस्ताव गरिएको अध्यक्ष पौडेलको भनाइ छ ।
कोरोनाको अवस्था पहिले भन्दा सामान्य हुँदैगएपछि अहिले देशभर अनलाइन कक्षा सञ्चालन भइरहेका छन् । तर कतै भने अहिलेसम्म विद्यालय खुलेका छैनन् ।
यसपटकको एसईई परीक्षा पनि जेठको अन्तिममा धकेलिने भएको छ । कोरोना महामारीका कारण गएको वर्ष आन्तरिक मूल्याङ्कनमार्फत नतिजा प्रकाशन भएकोमा यस वर्ष जेठको अन्तिमसम्म भए पनि परीक्षा गर्ने तयारी भएको बोर्डले जनाएको छ ।




प्रतिक्रिया