पूर्वमहारथीको अर्को घोटालाः भ्रष्टाचार र सम्पत्ति छानबिनका लागि संसदीय समितिमा उजुरी

पूर्वमहारथीको अर्को घोटालाः भ्रष्टाचार र सम्पत्ति छानबिनका लागि संसदीय समितिमा उजुरी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मनबहादुर बस्नेत

काठमाडौं ।  पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्रीको कार्यकालमा भौतिक संरचना निर्माणमा भएको अनियमितताको तथ्य फेला परेको छ । आर्थिक वर्ष ०७३/७४ र ०७४/७५ मा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षमा रहेका सेनाका विभिन्न इकाइमा भएका निर्माणमा अनियमितता भेटिएको सेनाकै आन्तरिक छानबिनले पुष्टि गरेको कागजात फेला पारेको छ ।

झन्डै ७७ करोड रुपैयाँ बराबरको भौतिक संरचना निर्माणका क्रममा अपचलन भएको हो । ३० करोड रुपैयाँ बराबरको भौतिक संरचना बनाएर र नबनेकालाई बनाएको भनेर रकम हिनामिना गरिएको हो । सेनामा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालय छ, जसले निकुञ्ज क्षेत्रको सुरक्षा र वन्यजन्तु चोरी–निकासी नियन्त्रणको जिम्मा पाएको छ । निर्देशनालयअन्तर्गतका गण, गुल्मका भौतिक संरचना भने सेनाले मापदण्डविपरीत बनाएको हो ।

जंगीअड्डाको सर्वोत्कृष्ट अभ्यास महाशाखाको अनुगमनले गुणस्तरहीन ब्यारेक तयार भएको औँल्याएको थियो । ३१ भदौ ०७५ मा महाशाखाका महासेनानी प्रकाशजंग कार्कीको अध्यक्षतामा चार सदस्यीय अनुगमन कार्यदल बनेको थियो । कार्यदलमा मध्य पृतना स्थपति सेवाका प्राविधिक प्रमुख सेनानी धु्रव पण्डित, गुणस्तर नियन्त्रण निर्देशनालयका सेनानी श्यामसुन्दर सापकोटा, कालीभक्ति गणका इन्जिनियर सहसेनानी मनोजकुमार राना थिए ।

प्रतिवेदनअनुसार २१ वटा एकाइमा अनुगमन गर्दा कुनै पनि संरचना मापदण्डअनुरुप बनेको पाइएको थिएन । छानाबाट पानी चुहिने, ढल निकास नराखेको, प्लास्टर स्तरीय नभएको, गुणस्तरहीन सेनेटरी तथा इलेक्ट्रिफिकेसनका सामान प्रयोग गरेकोजस्ता कमजोरी प्रतिवेदनमा औँल्याइएको छ ।

प्राविधिकसहितको छानबिन टोलीले स्थलगत अध्ययनपछि २१ पृष्ठको प्रतिवेदन सैनिक सचिव विभागमा बुझाएको थियो भने प्रधानसेनापति पूर्णचन्द्र थापालाई समेत ‘ब्रिफिङ’गरेको थियो ।

संसद्मा उजुरी पूर्वसेनापति क्षत्रीले अकुत सम्पति आर्जन गरेको भन्दै छानबिनका लागि संसदीय समितिमा उजुरी दर्ता भएको छ । संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा १२ भदौमा उजुरी परेको समितिकी शाखा अधिकृत गुणमाया सुनुवार सिंह बताउँछिन् । समितिकी सभापति शशी श्रेष्ठका अनुसार सबै उजुरीबारे प्रारम्भिक छानबिनका लागि तीन सदस्यीय कार्यदल गठन गरिएको छ । रेखा शर्माको अगुवाइमा गठित कार्यदलमा दिलेन्द्रप्रसाद बडु र नवराज सिलवाल सदस्य छन् ।

आजको नेपाल साप्ताहिकमा समाचार छ ।