काठमाण्डु – पूर्वराजा ज्ञानेन्द्र शाहले कुनै पनि प्रकारका सामाजिक सञ्जाल चलाउने नगरेको उनको सचिवालयले स्पष्ट गरेको छ ।
पूर्व राजाको सम्वाद सचिवालयले एक सूचना जारी गर्दै राष्ट्रिय समसामयिक घटनाका सन्दर्भ राष्ट्र र जनताको हितसँग सम्बद्ध साझा चासो र चिन्ताको विषयप्रति ध्यान राख्नु स्वभाविक भएपनि उनले कुनै पनि खालका सामाजिक सञ्जाल नचलाउने गरेको सूचनामा उल्लेख गरिएको छ ।
‘मौसुफबाट ट्विटर, फेसबुक वा कुनै पनि प्रकारका सामाजिक सञ्जाल सञ्चालन नगरिबक्सेको बेहोरा जानकारी गराइन्छ,’ जारी सूचनामा भनिएको छ, ‘यस्तो निराधार कपोलकल्पित भ्रमजालबाट मुक्त रहन सबैसँग आग्रह गर्दै आस्था र मर्यादामा आँच नपु¥याउन समेत अनुरोध गरिन्छ ।’
त्यस्तै पूर्व युवराज्ञी हिमानी शाहले पनि सामाजिक सञ्जाल नचलाउने सूचनामा उल्लेख छ । राप्रपा महाधिवेशनमा पूर्वराजा शाहले चलखेल गरेको आरोप लगाउँदै अध्यक्ष हारेलगत्तै कमल थापाले ट्विट गरे । जसमा ज्ञानेन्द्र शाह नामको ट्विटर ह्याण्डल मेन्सन गरिएको थियो । ज्ञानेन्द्रको नाममा रहेको ट्विटर अकाउन्टमा १ लाख ५७ हजार बढी फलोअर्स छन् ।
त्यस्तै त्यही दिन पूर्वयुवराज्ञी शाहको नामबाट राप्रपाका नवनिर्वाचित अध्यक्ष लिङ्देनलाई बधाई दिँदै ट्विट आएको थियो । ट्विटमा कमल थापाको नाम उल्लेख नभए पनि अवसरवाद, नातावाद र कृपावादमा पार्टीलाई भासेको आरोप उनैलाई लाएको कुरा अनुमान लाउन गाह्रो थिएन । यस्तो ट्विट देखेपछि अध्यक्ष हारेका थापा चुप लागेर बस्न सकेनन् । उनले उक्त ट्विटको कमेन्ट फर्काइहाले, ‘अब चाँडै राजसंस्था पुनःस्थापना हुने भएको हुँदा हिमानी शाहलाई पनि हार्दिक बधाई तथा शुभकामना ।’
यसमा पनि उनले हिमानी शाह नामको ह्याण्डललाई मेन्सन गरेका थिए । थापाले मेन्सन गर्नुअघि हिमानी शाह नामको अकाउन्टमा ९ हजार फलोअर्स थिए । अहिले फलोअर्स संख्या १२ हजार नाघिसकेको छ । तर, के यी दुई ह्याण्डल उनीहरुले चलाउँछन् ? यसबारे सर्वत्र प्रश्न उठिरहेका बेला निर्मल निवासले उक्त दुई ट्वीटर ह्याण्डल पूर्वराजार पूर्वयुवराज्ञीको नभएको बताएको हो ।




प्रतिक्रिया