एजेन्सी – अमेरिकाले सामाजिक सञ्जाल फेसबुकलाई अहिलेसम्मकै सबैभन्दा ठूलो रकम ५ अर्ब डलर जरिवाना तिराएको छ ।
अमेरिकाको संघीय व्यापार आयोग (एफटीसी)का अनुसार फेसबुकको गोपनीयता व्यवस्थापन कमजोर भएकाले ५ अर्ब डलर जरिवाना गरिएको हो ।
यस्तै, फेसबुकले गोपनीयता हेर्ने एउटा स्वतन्त्र समिति पनि बनाउनु पर्नेछ र यसमा फेसबुकका संस्थापक तथा प्रमुख मार्क जुकर्बर्गको नियन्त्रण हुनु हुने छैन ।
एफटीसीले राजनीतिक परामर्शदाता कम्पनी क्याम्ब्रिज एनालिटिकाले ७ करोड ८० लाख फेसबुक प्रयोगकर्ताको डाटा प्राप्त गरेको आरोपको छानबिन गरेको थियो ।
कुनै पनि कम्पनीले प्रयोगकर्ताको गोपनीयता उल्लङ्घन गरेको आरोपमा ५ अर्ब डलर जरिवाना तिरेको यो पहिलो पटक हो ।
एफटीसीका अध्यक्ष जो सिमोन्सले गोपनीयताको उल्लङ्घनलाई कम गर्न र फेसबुकमा पूर्ण रूपले गोपनीय संस्कृति विकास गर्न ठूलो जरिवाना गरिएको बताएको बीबीसीले जनाएको छ ।
फेसबुकका संस्थापक मार्क जकर्बर्गले फेसबुकले अब गोपनीयतामा ध्यान दिने र उनले विगतका कमीकमजोरी पनि सच्याउँदै अघि बढ्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।




प्रतिक्रिया