५४ जना यात्रु बोकेको अरनीको विमानमा आगो लाग्यो !


काठमाडौं – विराटनगर विमानस्थलमा ५४ जना यात्रु बोकेको विमानमा आगो लागेको छ ।

आज (बुधबार) बिहान ८ बजे काठमाडौंबाट हिमालय उडानका लागि गएको ३०१ कल साइन भएको अरनिको एयरलाइन्सको जहाज इन्जिनमा खराबी आएपछि विराटनगर विमानस्थलमा इमर्जेन्सी अवतरण गर्नुपर्ने अवस्था आएको विमानस्थलका अधिकारीले बताए ।

काठमाडौंबाट हिमालय उडानका लागि गएको ३०१ कल साइन भएको अरनिको एयरलाइन्सको जहाजबाट अचानक धुवाँको मुस्लो निस्केको देखिएपछि विमानलाई विमानस्थलमा अवतरण गराइएको थियो, तर अवतरण गरेको केही समयमै विमानमा आगो दन्किन थाल्यो ।

विमानमा चालक दलका सदस्यसहित ५४ जना यात्रु थिए । विमानस्थलभित्र रहेका सबै मानिस आत्तिएर याताउति दौडिन थाले । विमानस्थलको वरपर घर भएकाहरु तन्कीतन्की घटना हेरिरहेका थिए । विमानस्थलका कर्मचारीको दौडधूप तीव्र देखिन्थ्यो । साइरन बजाउँदै दमकल र एम्बुलेन्स मुस्लो देखिएको ठाउँतिर हुइँकिँदै थिए । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र रेडक्रसकर्मीहरु पनि हतारिएर घटनास्थलतिर जाँदै थिए । उद्धारकर्ताहरु युनिफर्मसहित घटनास्थलतिर दौडिरहेका थिए । त्यो दृश्य हेर्ने जो कोही नआत्तिनै कुरै थिएन ।

आपतकालीन अवतरण गराउँदा हुन सक्ने जोखिम न्यूनीकरणका लागि विमानस्थलमा सबै कुरालाई तयारी अवस्थामा राखिएको थियो । ती सबै उपकरणको प्रयोग गर्ने प्रयास भइरहेको थियो । धेरै समयमा आगो नियन्त्रणमा आए पनि जहाजको धेरै जसो भाग जलेको देखिन्थ्यो ।

सो दुर्घटनामा चार जना यात्रुको मृत्यु, २० जना गम्भीर घाइते एवं १५ जना मध्यम र १५ जना सामान्य घाइते भएको जानकारी गराइयो । विमानस्थलका अधिकारीहरुले घाइतेहरुको नोबेल शिक्षण अस्पताल र हाम्रो अस्पतालमा उपचार भइरहेको बताए । घटनाबारे ५–५ मिनेटमै विमानस्थलले जानकारी दिइरहेको थियो ।  विराटनगर विमानस्थलमा देखिएको त्यो सबै दृश्य वास्तविक नभएर नाटकीय हो । जहाज दुर्घटना भएका बेला धेरै यात्रु आत्तिन्छन्, जसले क्षतिको सम्भावना थप बढाउँछ । त्यसैले बढी मात्रामा हुन सक्ने मानवीय एवं भौतिक क्षति न्यूनीकरणका लागि के कस्ता सावधानी अपनाउने भनी गरिएको पूर्वअध्यास थियो याे ।

तर, यस्तो अभ्यास हुँदै गरेको कुरा धेरैलाई थाहा थिएन । जसले गर्दा त्यहाँ एक छिन धेरै मानिस आत्तिए । विमानस्थल वरपरका बासिन्दा डराए । अभ्यास भन्ने थाहा पाएपछि धेरैले लामो श्वास फेरे ।

पूर्वअभ्यास हेर्नका लागि प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्की, मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी, मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीलगायतका अधिकारी पनि उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement