परिवार नियोजनको साधन बन्दै गर्भपतन

परिवार नियोजनको साधन बन्दै गर्भपतन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्वत – पर्वतमा गत वर्ष ९७२ महिलाले गर्भपतन गराएका छन् । जिल्ला अस्पताललगायत सुरक्षित गर्भपतन गराउन सूचीकृत जिल्लाका २६ स्वास्थ्य संस्थामा उनीहरुले सो सेवा लिएका हुन् ।

जनस्वास्थ्य कार्यालय पर्वतका तथ्याङ्क अधिकृत प्रवीण भण्डारीले जिल्लामा सुत्केरी हुने सङ्ख्या गत वर्ष ९०१ रहेको बताउँदै सुत्केरी हुनेभन्दा गर्भपतन गराउने धेरै देखिएको बताए । गर्भपतनलाई परिवार नियोजनको विकल्पका रूपमा प्रयोग हुन थालेको भन्दै स्वास्थ्यकर्मीले चिन्ता व्यक्त गरेका छन् ।

पर्वत अस्पतालका प्रमुख डा शिशिर देवकोटाले परिवार नियोजनका साधन प्रयोग गर्नभन्दा गर्भपतन गर्न सजिलो मान्ने गरेको भन्दै यसले समस्या निम्तिने खतरा रहेको बताए । डा देवकोटाका अनुसार परिवार नियोजनका अस्थायी साधनको प्रयोगको अवस्था निकै न्यून रहेको छ । पर्वतमा अस्थायी साधनको प्रयोगदर ३१ प्रतिशत रहेको छ जबकि राष्ट्रियस्तरमा परिवार नियोजनको साधान प्रयोगदर ४२ दशमलव ७ प्रतिशत छ ।

अस्थायी परिवार नियोजनका साधन कण्डम, पिल्स, इनप्लान्ट, सङ्गीनी सुईको सर्वसुलभ व्यवस्था भए पनि प्रयोगकर्ताले झण्झट मान्ने गरेको स्वास्थ्यकर्मीको भनाई रहेको छ । कुश्मा नगरपालिकामा सबैभन्दा बढी ४९४ महिलाले गत वर्ष गर्भपतन गरेका छन् । फलेवासमा १२२, पैयुँमा १२५, विहादीमा ९८, महाशिलामा ३८ ले गत वर्ष गर्भपतन सेवा लिएका छन् ।

जलजला गाउँपालिकामा ६२ र मोदी गाउँपालिकामा ३३ ले गर्भपतन गराएको तथ्याङ्क छ । डा देवकोटाले धेरैपटक गर्भपतन गराउँदा महिलामा शारीरिक समस्या देखिने बताए । उनले धेरैपटक गर्भपतन गर्दा पाठेघर कमजोर हुने, गर्भ राख्न चाहँदा पनि गर्भपतन हुने र भविष्यमा बाँझोपनसमेत हुने खतरा हुने जनाए । महिलालाई सकेसम्म गर्भनिरोधक अस्थायी साधानको प्रयोग गर्न डा देवकोटाको सुझाव छ ।