काठमाण्डु – सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन आजबाट सुरु हुँदैछ । सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन अन्त्य भएकाे झण्डै ६ महिनापछि आजबाट सातौँ तथा हिउँदे अधिवेशन सुरु हुन लागेको हो ।
प्रदेश सभाको छैटौं अधिवेशन गत जेठ १३ गते सुरु भएर भदौ ३१ गते सकिएको थियो । छैटौँ अधिवेशनसम्म प्रदेशसभामा दर्ता भएका ४४ विधेयकमध्ये ४२ विधेयक पारित भैसकेका छन् भने दुइ वटा विधेयक विचाराधिन रहेका छन् । ६ महिनाको अवधिमा प्रदेश सचिवालयमा तीनवटा विधेयक दर्ता भएका छन् ।
सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी लक्ष्मीप्रसाद जोशीले प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले तयार गरेका तीनवटा विधेयक प्रदेश सभामा दर्ता गराएको जानकारी दिए ।
गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरिएयता बस्न लागेको प्रदेश सभा बैठकलाई चासोका साथ हेरिएको छ । संसद् विघटनपछि सत्तारूढ नेकपा प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड–नेपाल समूहमा विभाजन भएको छ । नेकपा फुटको असर प्रदेशमा पनि देखिएको छ ।
ओलीपक्षिय भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरा बर्खास्त गरिएपछि र आर्थिक मामिला तथा योजनामन्त्री झपडबहादुर बोहराले राजीनामा दिएपछि सुदूरपश्चिम प्रदेशमा प्रचण्ड–नेपाल समूहका मुख्यमन्त्री त्रिलोचन भट्टको नेतृत्वमा सरकार छ ।




प्रतिक्रिया